सीमा क्षेत्रमा थप ११४ वटा बीओपी स्थापना गर्ने सरकारको निर्णय

सीमा क्षेत्रमा थप ११४ वटा बीओपी स्थापना गर्ने सरकारको निर्णय

सरकारले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न भन्दै थप १ सय १४ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिन सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले थप बीओपी स्थापना गर्ने निर्णय भएको बताउनुभयो ।
हाल मुलुकभर १ सय ७ वटा बीओपी छन् । थप गरिएसँगै बीओपी संख्या २ सय २१ पुग्ने मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । सो क्रममा मन्त्री बाँस्कोटाले अपराधिक गतिविधि नियन्त्रणका लागि बीओपी राख्न लागिएको बताउनुभयो ।
यस्तै, सरकारले दुई सचिवको सरुवा गरेको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अतिरिक्त समूहका सचिव बालकृष्ण घिमिरेको सरुवा गरेको हो । घिमिरेलाई सुदूरपश्चिम र विडारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।
सरकारले सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गठन गरेको सीआईबीको छानबिन समितिको म्याद पुस २८ गतेसम्मका लागि थप्ने निर्णय पनि गरेको छ ।
सरकारले चालू आर्थिक वर्षको बीचमा संघ तथा प्रदेशबाट स्थानीय तहमा सशर्त, विशेष र समपुरक अनुदानमार्फत प्राप्त हुने रकमलाई बजेटमा समावेश गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर