प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दा अयोग्य भन्दै निकालिएका नेताहरुले आफ्नो असन्तुष्टि स्थायी समिति बैठकमा व्यक्त गरेका छन् । मन्त्रिमण्डल पुनर्गठन गर्दा सरकारबाट बाहिरिएका नेताले आइबारबाट जारी स्थायी समिति बैठकमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका हुन् ।
अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा उनीहरुले आफूहरुले गरेको कामको मूल्याङ्कन गर्नुको साटो अयोग्यको बिल्ला भिराएर गलत्याएको टिप्पणी गरे । मन्त्रीबाट हटाउँदा आत्मसम्मानमा चोट पुगेको बताउँदै उनीहरुले प्रधानमन्त्रीले राजीनामा मागेको भए सिंहदरबारमा पत्र पठाउन तयार हुने तर्क गरे
सरकारबाट बाहिरिएका नेतामध्ये मातृका यादव, गोकर्ण विष्ट र रघुवीर महासेठले जारी स्थायी समिति बैठकमा धारणा राख्ने क्रममा जनता सामु समेत आफूहरुलाई लज्जित बनाउने काम पार्टीले गरेको दुखेको गर्नुभयो ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बसेको चौंथो दिनको स्थायी समिति बैठकमा आज बोल्दै पूर्व श्रम मन्त्री विष्टले मन्त्रिमण्डल पुनर्गठन हुँदा आफ्नो आत्मसम्मानमा चोट पुगेको बताउनुभयो ।
पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट हटाईएका नेता यादबले प्रधानमन्त्री र पार्टी अध्यक्षले आफूमाथि ‘न्याय’ गरेको भन्दै व्यङ्ग गर्नुभयो । पहिलेदेखि नै मन्त्री पदमा बस्न मन नभएको र हटाएर प्रधानमन्त्री र पार्टी अध्यक्षले धेरै राम्रो गरेको उहाँको भनाई थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट हटाईएका महासेठले हिजो नै आफनो धारणा राख्दै मन्त्रिमण्डल पुनर्गठन पछि पनि उल्लेख्य काम हुन नसकेको तर्क गर्नुभएको थियो ।
गत मंसिर ५ गते मन्त्रिमण्डल पुनर्गठन गर्दा विष्ट, महासेठ सहित मातृका यादव, चक्रमाणि खनाल, लालबाबु पण्डित र थममाया थापालाई बाहिर राख्दै उनीहरुको ठाउँमा ह्ृदेयश त्रिपाठी, घनश्याम भुषाल, लेखराज भट्ट, रामेश्वर राय यादव, बसन्त नेम्वाङ र पार्वत गुरुङलाई मन्त्री बनाइएको थियो ।
स्थायी समिति बैठकमा आजसम्म ३७ जनाले धारणा राखेको र बाँकीले भोलि बिहान ११ बजे बस्ने बैठकमा धारणा राख्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
