नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिती बैठकमा अमेरिकाको ईण्डो प्यासिफिक रणनीति र मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका विषय पेचिलो बनेको छ । अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा धारणा राख्ने क्रममा इन्डो प्यासिफिक र एमसीसीको विषयमा सदस्यहरुबीच मत बाझिएको हो ।
भीम रावल, देव गुरुङ,लिलामणी पोखरेल, रघुजी पन्त लगायतका सदस्यहरुले एमसीसी अनुमोदनको विपक्षमा उभिन नेतृत्वलाई सुझाव दिएका हुन् । संसदबाट पारितको प्रक्रियामा रहेको एमसीसी राष्ट्रहित विपरित रहेको उनीहरुको तर्क छ ।
परराष्ट्रमन्त्री एवं स्थायी समिती सदस्य प्रदिप ज्ञवालीले भने एमसीसी ईण्डो प्यासिफिकको अंक नभएको भन्दै यसलाई फरक ढङ्गले बुझ्न आग्रह गर्नुभयो । हिजो सम्म करिब ३५ सदस्यले धारणा राखेको र सो क्रम आज पनि जारी रहने नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
भोलिबाट संसद बैठक पनि बस्ने भएकाले आज सदस्यहरुको धारणा सकाउने र भोलि अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिएर प्रतिवेदन पारित गर्ने गरी तयारी भइरहेको नेता पाण्डेले जानकारी दिनुभयो ।
