सडक पेटीमा बस्दै आएकाको उद्धार

सडक पेटीमा बस्दै आएकाको उद्धार

मोरङको मिक्लाजुङ– मधुमल्ला बजार क्षेत्रको सडक पेटीमा बस्दै आएका दुई जनाको उद्धार गरिएको छ ।
मिक्लाजुङ युवा मञ्चको पहलमा उद्धार गरिएको मञ्च प्रतिनिधि गोपाल नेपालीले बताए । उनीहरूलाई इटहरीको माया घर नेपालमा बस्ने व्यवस्था मिलाइएको छ । उद्धार गरिएकाहरूमा एक महिला र एक पुरुष छन् ।
मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले चिसो समयमा सडक पेटीमा रात बिताउँदै आएकाहरूको उद्धार गर्नु सराहनीय कार्य भएको बताइन् । उपाध्यक्ष राई तीन हजार र लायन्स क्लब अफ मधुमल्लाले पाँच हजार र अन्य स्थानीय सहयोगी मनहरूको सहयोगमा २४ हजार दुई सय ८० रुपैयाँ सङ्कलन गरी माया घरलाई सहयोग गरिएको थियो । माया घरकी अध्यक्ष सुभद्रा प्याकुरेललाई नगद हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष विनोद दर्नालले बताए ।यसैबीच मोरङको मिक्लाजुङ–९ को बहुमुखी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्विटर प्रदान गरिएको छ । मङ्गलबार विद्यालयमा अध्ययरत १ सय ३० जना विद्यार्थीहरूलाई स्वीटर वितरण गरिएको हो ।
मिक्लाजुङका युवा व्यवसायीहरू तथा नेपाली काङ्ग्रेस मिक्लाजुङका पार्टी सचिव दीपक श्रेष्ठ र नेपाल तरुणदल जिल्ला सदस्य बबिकुमार राईले संयुक्त रूपमा स्विटर जस्तापाता उपलब्ध गराएका थिए । ग्रामीण भेगका विद्यार्थीहरूका लागि स्विटर वितरणले राहत पुगेको विद्यालयका प्रधानाध्यापक प्रेम निरौलाले बताए ।
त्यस्तै मोरङको मिक्लाजुङ–२ का ६६ वर्षीय खड्गबहादुर राईको परिवारलाई जस्ता पाता वितरण गरिएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका उनको छाना चुहिने अवस्थामा रहेकाले जस्ता पाता वितरण गरिएको हो । मङ्गलबार युथ फर मिक्लाजुङ र नेपाल तरुणदल मिक्लाजुङले ३० पाता टिन र काँटी उपलब्ध गराएको युथ फर मिक्लाजुङ सदस्य अर्पण श्रेष्ठले बताए । ब्लाष्टखबर

सम्बन्धित खवर