प्रतिनिधि सभाको सभामुख पदको जिम्मेवारी पूर्व सभामुख सुवास नेम्वाङलाई दिन नेकपा भित्र मोटामोटी सहमति भएको छ । शुक्रबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अगावै सभामुख चयनको प्रक्रियालाई अघि बढाउने तयारी गरेको सत्ता नेतृत्वकर्ता दल नेकपाले नेम्वाङलाई सो जिम्मेबारी दिन लागेको हो ।
नेम्वाङका नाममा अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक रहेको नेकपा उच्च श्रोतले जनाएको छ । सभामुख छान्ने प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेम्वाङले इलाम भ्रमणको कार्यक्रम स्थगित गर्नुभएको छ ।
सभामुख पदका लागि नेम्वाङसँगै उपसभामुख शिवमाया तुम्बाहाम्फे, पम्फा भुषाल, देव गुरुङ र अग्नी सापकोटाको नाम चर्चामा रहेपनि नेम्वाङलाई जिम्मेवारी दिन शीर्ष नेताहरु सहमती नजिक पुगेको श्रोतले बताएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सभामुखको नाममा छलफल जारी रहेपनि औपचारिक सहमति नभएको बताउनुभयो ।
नेता देव गुरुङले नीतिगत रुपमा भएका व्यवस्थाका आधारमा वैधानिक विधिद्वारा सभामुख चयनको प्रक्रिया अघि बढ्ने बढ्ने बताउँदै पार्टीले चयन गर्ने उम्मेद्वारको नाममा विावद नरहने स्पष्ट पार्नुभयो ।
नेकपाले सभामुख पद आफैँले राखेर उपसभामुखमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई अघि सार्ने तयारी गरेको छ । नेकपाकै शिवमाया तुम्बाहाम्फे उपसभामुख रहेकाले तत्काल सभामुखमा नेकपाले उम्मेद्वारी दिन नपाउने भएकाले त्यसअगावै उहाँलाई राजिनामा गराउने तयारी भएको छ । तुम्बाहाम्फेले राजिनामा दिएपछि मात्र सभामुख चयनका लागि नेकपालाई बाटो खुल्नेछ ।
