विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

कास्की क्षेत्र नं. २ को उपनिर्वाचनबाट निर्वा्चित विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ लिएकी छन्। उनलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सिंहदरबारस्थित संसद सचिवालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।
१४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएकी थिइन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन्।
भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए । तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रवीन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।
मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की २ बाट निर्वा्चित नेकपाकी सांसद विद्या भट्टराईलाई सभामुख नभएको बेला कसले शपथ ग्रहण गराउने भन्ने विवाद भइरहेको बेला उपसभामुखले नै पहिलो पटक शपथ खुवाएकी हुन्।
उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वा्चित भट्टराईबाहेक अन्य ठाउँबाट निर्वा्चित सबैले यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। नेपालको संविधानमा संघीय संसदका सदस्यले सदनमा त्यससम्बन्धी कुनै पनि समितिको औपचारिक बैठकमा भाग लिन शपथग्रहण अनिवार्य हुनुपर्ने उल्लेख छ। आगामी पुस ४ गतेदेखि प्रतिनिधिसभा संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ।

सम्बन्धित खवर