शिक्षिकालाई सहायक प्रधानाध्यापको अश्लील म्यासेज

शिक्षिकालाई सहायक प्रधानाध्यापको अश्लील म्यासेज

आफ्नै सहकर्मी शिक्षिकालाई अश्लील म्यासेज पठाएको आरोपमा मोरङको मिक्लाजुङ गाउँपालिका मधुमल्लास्थित भगवती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद पौडेलविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
सहायक प्रधानाध्यापक पौडेलले सहकर्र्मी शिक्षिकालाई सामाजिक सञ्जालमार्फत् अश्लील म्यासेज पठाएर हैरानी दिएको भन्दै उजुरी परेको हो । पौडेलले म्यासेज पठाएसँगै उनी कानूनी र व्यवहारिक समस्यालाई छल्न एक महिनादेखि फरार छन्
शिक्षक पौडेलबाट मानसिकरूपमा सताइँदै आएकी मिक्लाजुङ मधुमल्लाकी २१ वर्र्षीया शिक्षिका र उनका परिवारले सोमबार पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पौडेलले उनलाई अश्लील म्यासेज लेखेको पाइएको छ ।
शिक्षिकाले भने प्रत्येक वाक्यांशमा असहमति र आपत्ति जनाएकी छन् । पीडित शिक्षिकाका अनुसार विद्यालय समयमा पनि पौडेलले अनेक प्रलोभन देखाउँदै आएका थिए । ‘मलाई कसैले केही गर्न सक्दैन, झन् तिम्रो कुरा त तिम्रो परिवारले पनि पत्याउँदैन’ भन्दै थर्काउने गरेको पनि शिक्षिकाले खुलाइन् ।
शिक्षिकाका बुबाले भने, ‘हाकाहाकी कसैकी छोरी चेलीमाथि गिद्देनजर लगाउनेलाई त्यसै छाड्दैनौं ।’ आफूहरूको पहिलो शर्त पौडेलले शिक्षक पदबाट राजीनामा गर्नुपर्ने भने पनि उनी फरार रहेकाले कानूनी उपचार खोज्न बाध्य भएको शिक्षिकाका बुबाको भनाइ छ । उनले शिक्षक पौडेलविरुद्ध प्रहरीमा जाहेरी दिएको पनि जनाए । शिक्षक नै दुराचारी भएपछि विद्यार्र्थीले कस्तो शिक्षा लिन्छन् भन्ने प्रश्न गर्र्दै उनले भने, ‘सबक सिकाउनै राजीनामा मागेका हौं ।’
इलाका प्रहरी कार्यालय उर्लाबारीले शिक्षक दुर्गाप्रसाद पौडेलविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । उर्लाबारी–७ घर भएका पौडेललाई पीडितको जाहेरीअनुसार अभद्र व्यवहार मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक सुभाष राईले जानकारी दिए । ‘खोजी कार्य तीव्र पारेर घरलाई निगरानीमा राखेका छौं’ इन्स्पेक्टर राईले भने, ‘उनले कारबाहीको दायरामा नआई सुख छैन ।’
सहायक प्रअ पौडेलले १५ दिनका लागि भनेर गत कात्तिक २२ गते ‘बिरामी बिदा’ लिएको भगवती माविका प्रधानाध्यापक प्रेमप्रकाश कोइरालाले बताए । मङ्सिर ७ गते हाजिर हुनुपर्ने भए पनि हालसम्म पौडेल सम्पर्कमा नआएको विद्यालयले जनाएको छ । मोरङ मिक्लाजुङ–६ मूल घर भएका पौडेल यसअघि पनि स्थानीय एक महिलासँग यौनकाण्डमा मुछिएका थिए । सामाजिक रूपमा सो घटना मेलमिलापमा टुङ्गिएपछि उनी सपरिवार उर्लाबारी बसाइ सरेको बताइएको छ । ब्लाष्ट दैनिकबाट

सम्बन्धित खवर