युवतीहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको अरोपमा चितवन प्रहरीले होटल सञ्चालक सहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट हराएका दुई जना युवतीको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई चितवनबाट पक्राउ गरेको हो ।
काठमाडौं डेरा गरी बस्ने १४ वर्ष र २२ वर्षका युवती गत कात्तिक २८ गतेदेखि हराएका थिए । उनीहरु चितवनमा फेला परेका हुन् । चितवन प्रहरी कार्यालयका प्रमुख रहेका एसपी दानबहादुर मल्लले भन्नुभयो, ‘उनीहरुको खोजी कार्य चितवन प्रहरीले पनि गरेको थियो ।
मोबाइल फोनको लोकेशन खोज्दै जाँदा उनीहरु जुगेडीस्थित एक होटलमा बसेको फेला र्पयो । होटलबाट पनि उम्काएर उनीहरुलाई अन्यत्र लैजान खोजेका बेलामा प्रहरीले उनीहरुको उद्धार गरेको हो ।’
ती युवतीहरुलाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा सञ्चालित होटलमा जबरजस्ती यौन कार्यक्रमा संलग्न गराउने गरेको पत्ता लागेको एसपी मल्लले बताउनुभयो । प्रहरीले होटल सञ्चालक ५० वर्षीय जंगबहादुर क्षेत्री र ३९ वर्षीय निर्मला थापा क्षेत्रीलाई पक्राउ गरेको छ । त्यसैगरी, सुनसरी धरान–८ लेटाङकी २४ वर्षीया रोशिका राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
एसपी मल्लले भन्नुभयो, ‘रोशिकाले ती युवतीहरुलाई काठमाडौंबाट फकाएर जुगेडीसम्म ल्याएको खुलेको छ ।’
उनीहरु शनिबार चितवनबाट पक्राउ परेका हुन् । जुगेडीको सो होटलमा यौन गतिविधि हुने भूमिगत कोठा पनि रहेको मल्लले बताउनुभयो । पीडित युवतीका आफन्तले पक्राउ भएका व्यक्तिहरु विरुद्ध मानव बेचबिखन तथा ओसार पसार अपराधमा सजाय माग गर्दै उजुरी दिएको एसपी मल्लले जानकारी दिनुभयो । अपराध प्रमाणित भए १० देखि १५ वर्ष कैद, ५० हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । रमेशकुमार पौडेलले रेडियो कान्तिपुरमा लेखेका छन् ।
