पाँचथरका सुख्खा क्षेत्रमा विद्युतीय प्रविधिबाट ’लिफ्टिङ’ गरेको पानी

पाँचथरका सुख्खा क्षेत्रमा विद्युतीय प्रविधिबाट ’लिफ्टिङ’ गरेको पानी

तमोर लिफ्टिङ खानेपानी आयोजनाले बुधबारदेखि पाँचथरको सुख्खाग्रस्त क्षेत्रमा पर्ने कुम्मायक गाउँपालिकाका उपभोक्तालाई पानी वितरण गर्ने तयारी गरेको छ। विद्युतीय प्रविधिबाट लिफ्टिङ गरेर ल्याएको तमोरको पानी ४ वटा ट्यांकीमार्फत आयोजनाले वितरण गर्न लागेको हो ।
शुक्रबार पाँचौं ट्यांकीबाट छैठौं ट्यांकीमा परीक्षणका लागि पानी पठाइएको थियो। पानी परीक्षण सफल भएको आयोजनाले जनाएको छ । आयोजनाका साइड इञ्चार्ज लोकेन्द्र राजभण्डारीले भने, ’जुन् जुन् ट्यांकीमा पानी पठायौं। परीक्षण सफल भएको छ ।
ती ट्यांकीहरूबाट २५ गतेदेखि पानी वितरण कार्य सुरु गर्छौं।’ आयोजनाको मुख्य प्रसारण लाइनअन्तर्गत निर्माण गरिएका १ र २ नं. ट्यांकी भएको क्षेत्रमा बस्ती छैन । तर ३, ४, ५, ६ र ७ नं. ट्यांकी भएको क्षेत्रमा भने वस्ती छ। आयोजना साइड इञ्चार्ज राजभण्डारीले पहिलो चरणमा आयोजनाले लिफ्टिङ गरेर ल्याएको तमोरको पानी ७ नं. बाहेकका ट्यांकीबाट वितरण गरिने बताए।
उनले दोस्रो चरणमा ७ नं. ट्यांकी र त्यसअन्तर्गतका ५ वटा ट्यांकीमा पानी परीक्षण गरी गरिने पानी वितरण गरिने पनि बताए। आगामी पुस १५ गतेसम्म भने ७ नं. र त्यस अन्तर्गतका ट्यांकीमा परीक्षणका लागि पानी पठाई सक्ने आयोजनाको लक्ष्य छ।
आयोजनाको मुख्य प्रसारण लाइनको काम प्रेरा(स्वामी नारायण जेभी ललितपुरले १७ करोड ३० लाख ६५ हजार रुपैयाँ लागतमा गर्दै आएको छ। वितरण लाइनको काम भने २२ करोड १० लाख ८ हजार रुपैयाँ लागतमा कन्काई(महादेव खिम्ती(स्वामी नारायण जेभी सुनसरीले गर्दै आएको छ ।
आयोजना सम्पन्न भएपछि कुम्मायक गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ नं. वडाका तीन हजार ४३ घरका १३ हजार ८४० जना स्थानीय लाभान्वित हुनेछन्। मुख्य प्रसारण लाइनको काम २०७२ साल पुस १६ गतेदेखि र पानी वितरण लाइनको काम भने २०७३ साल फागुन ६ गतेदेखि सुरु भएको हो । जंग तामाङले थाहाखबरमा लेखेका छन् ।

सम्बन्धित खवर