सम्पादक समाजका कोषाध्यक्ष दाहालको मृत्यु शंकास्पद

सम्पादक समाजका कोषाध्यक्ष दाहालको मृत्यु शंकास्पद

अग्रज पत्रकार तथा सम्पादक समाजका कोषाध्यक्ष जयप्रसाद दाहालको मृत्यु भएको छ। विराटनगर–२ शनिहाटस्थित आफ्नै घरमा आइतबार शंकास्पद अवस्थामा शव फेला परेको छ। ७० वर्षीय दाहालको प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान शुरु गरेको जनाएको छ।
उनी सुतेको ओछ्यान र छेउमा रहेको ग्यास सिलिण्डरको पाइप जलेको पाइएको छ। भान्सा कोठाको ग्यास सिलिण्डर उनको ओछ्यानमा ल्याएर हत्यापछि आगो लागेर मृत्यु भएको जस्तो देखाउन खोजिएको हुन सक्ने प्रहरीको अनुमान छ।
हाल काठमाडौंमा बसोबास गर्दै आएका दाहाल विराटनगरको घर र जमीन बिक्री गर्ने उद्देश्यले आएको बुझिएको छ। उनी काठमाडौंबाट शनिबार नै विराटनगरमा आएर भाडामा लगाएको आफ्नो घर पुगेका थिए।
बिहान ९ बजे छिमेकीले ढोका खोलेर हेर्दा घाँटीमा पेटमा गम्भीर चोट भएको र आधा जलेको शव फेला परेको प्रहरीले जनाएको छ। घर बिक्री गर्न भाडामा रहेका मानिसलाई अन्यत्र सर्न आग्रह गरेर घरमा एक्लै सुतेका दाहाललाई हत्या गरेर आगो लगाइएको हुन सक्ने प्रहरीको भनाइ छ।
दाहालले शनिबार बेलुका उनकै घरमा भाडामा बसेका राधेश्याम दराकसँगै खाना खाएका थिए। प्रहरीले अनुसन्धानका लागि दराकलाई सोधपुछपछि रिहा गरेको छ। पोष्टमार्टमपछि सोमबार उनको दाहसंस्कार गरिएको छ।
हत्या भएको आशंकामा सूक्ष्मरूपले अनुसन्धान थालिएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। विसं २००५ सालमा जन्मेका उनकी श्रीमती र दुई छोरा छन्।
थाहाखबरबाट

सम्बन्धित खवर