बगलादेशलाई हराउदै नेपाल पुरूष फुटबलको फाईनलमा

बगलादेशलाई हराउदै नेपाल पुरूष फुटबलको फाईनलमा

प्रवेश बिष्ट, नेपाल १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि १–० को जित दर्ता गर्दै फाइनल यात्रा पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सुनिलले पहिलो हाफको सुरुवाती समयमा नै कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै गोल गरेका थिए । नेपालले खेलको शुरुवात देखि नै बंगलादेशलाई दवावमा राखेको थियो । २६औं मिनेटमा कप्तान सुजल श्रेष्ठको प्रहार गोलरक्षक अनिसुर रहमानले बचाउँदा नेपाल अग्रता दोब्बर पार्नबाट चुकेको थियो । ३० औं मिनेटमा नेपालका गोलरक्षक विकेश कुथुले कर्नरबाट आएको बललाई पञ्च गरेर बचाइदिए ।

दोस्रो हाफमा घरेलु टोली नेपाललाई दवावमा राखेपनि नेपालले शुरुमै लिएको अग्रता जोगाइराख्न सफल भयो । ५७ औं मिनेटमा सुनिल बलको बक्स बाहिरको प्रहार डिफेन्डरलाई लाग्दै दोस्रो बारबाट थोरै बाहिरिँदा नेपालले अग्रता दोब्बर बनाउनबाट चुक्यो । ६१ औं मिनेटमा बंगलादेशले बराबरीको सुन्दर मौका खेर फालेको थियो । रियादल हसनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।

६५ औं मिनेटमा सुनिल बलको क्रसमा कप्तान सुजलको हेडर पोस्टबाट थोरै बाहिरियो । ७० औं मिनेटमा गोलरक्षक अनिसुर रहमनले नियन्त्रणमा लिन नसकेको बललाई अभिषेक रिजालले खाली पोस्टमा गोल गर्न सकेन । उनको प्रहार आकासिएको थियो । नेपाल यस नतिजासँगै लिग चरणको विजेता बन्यो । लिगमा नेपालले ४ खेलमा १० अंक जोड्यो भने दोस्रो स्थानमा रहेको भुटानले ९ अंक हासिल गर्यो । बंगलादेश ४ अंकसहित कास्य पदकमा सिमित भयो । श्रीलंका र माल्दिभ्स २/२ अंकसाथ पुछारमा रहे ।

नेपालले अब मंगलबार हुने फाइनल खेलमा भुटानसंग प्रतिस्पर्धा गर्ने छ । समूह चरणको खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । नेपाल साग फुटबलको साविक विजेता पनि हो ।

सम्बन्धित खवर