पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरका किशोरीहरुका लागि आत्मरक्षाको तालिम सञ्चालन भएको छ ।
नगरपालिकाको सहयोगमा केआइएफ कुरोदय मार्सल आर्टस संघ मोरङ मार्फत नगरका ७ विद्यालयका ७५ जना किशोरीका लागि एक साताको आत्मरक्षा सम्वन्धी आधारभूत तालिम सञ्चालन भएको हो ।
तालिम समापनका अवसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत किशोरीहरुको आत्मरक्षाका लागि यसखाले कार्यक्रम तय गरि महिलामाथि हुने हिंसालाई कम गर्ने उपाय निकालिएको बताउनु भएको छ ।
कार्यक्रममा, संविधानसभा सदस्य चण्डीप्रसाद राई, केआइएफ कुरोदय मार्सल आर्टस् संघकी केन्द्रीय उपाध्यक्ष विद्या चाम्लिङ, संघका जिल्ला अध्यक्ष टीका भट्टराई र प्रशिक्षार्थी वविता राईले मन्तव्य व्यक्त गर्नुभयो । कोही आफुमाथि आइलाग्दा कम शक्ति र सृजनशील विवेकबाट वच्न सकिने तालिमलाई प्रकाश वस्नेत, अशोक लिम्बू, लुना लिम्बू, युना राई र सन्तोष राईले सहजिकरण गर्नुभएको छ ।
सो अवसरमा, तालिममा उत्कृष्ठ अस्मिता चौधरी र सुवाना लिम्बूलाई पुरस्कृत गरिएको छ ।