उपचुनावको समीक्षा रिपोर्ट तीन दिनभित्र पठाउन नेकपाको निर्देशन

उपचुनावको समीक्षा रिपोर्ट तीन दिनभित्र पठाउन नेकपाको निर्देशन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समीक्षा सहितको रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बुधबार केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बसेको सचिवालय बैठकले चुनावी रिपोर्ट पेश गर्न सबै क्षेत्रका सम्बन्धित निकायलाई निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए
मंसिर २३ गते बस्ने सचिवालयको अर्को बैठकमा उपचुनाव सम्बन्धमा तल्ला कमिटीको रिपोर्टसहित समीक्षा हुने बताइएको छ । सचिवालय बैठकमा उपचुनावमा सामान्य समीक्षा भएको र विशेषतः धरान उपहानगरपालिका र भक्तपुरको प्रदेशसभाको पराजयबारे नेताहरुले चासो राखेको स्रोतले जनाएको छ ।
उपचुनावको समग्र परिणाममा आधाभन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपाले जनाएको छ । उपचुनाव भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक(एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ ।
त्यस्तै नेकपाकै समर्थनमा बागलुङको प्रदेशसभामा राष्ट्रिय जनमोर्चाले जितेको तथा प्यूठानमा नेकपाकै स्थानीय कमिटीको समर्थनमा उठेका वडाध्यक्षले जितेको सहित ५२ मध्ये ३२ स्थानमा जीत भएको नेकपाले जनाएको छ । उपचुनावले पार्टीको शक्ति अहिले पनि दुई तिहाइकै अवस्थामा देखाए पनि धरान, भक्तपुर र भरतपुरको एक वडाको चुनावी परिणाम समीक्षाको विषय बनेको नेकपा नेताहरुले बताएका छन् । अनलाईनखबर

सम्बन्धित खवर