मोरङ, बलात्कार आरोप लागेका सिद्धबाबा कृष्णदास गिरिलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै अनुयायीलाई आश्रम बोलाएर बलात्कार गरेको आरोपमा उनी विरुद्द प्रहरीमा जाहेरी परेको थियो ।
आरोप लाग्ने वितिकै उपचार गर्न भनेर आश्रमबाट हिडेका उनलाई प्रहरीले सोमबार बिहान ५ बजे अस्पतालबाटै पक्राउ गरेको छ ।
उपचारको क्रममा रहेको भनिएको उनलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालाय सुनसरीको टोलिले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि अहिले जिल्ला प्रहरी कार्यालय सुनसरी लगिदैछ ।
हिजै पक्राउ गर्न सुनसरीबाट विराटनगर आएको डीएसपी विनोद शर्मा नेत्रृत्वको टोली उनलाई पक्राउ गर्ने कि नगर्ने भन्ने दोधारमा थियो । गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए । उनलाई छात्ती, मुटु तथा प्रोस्टेट तथा मृर्गौलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो । गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो ।
तर एकाएक मुटु र छात्तीमा समस्या बढेको भन्दै उनलाई आइतबार बिहान ११ः३० बजे आईसीयूको १० नम्बर बेडमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख पदम विनारीले बताए ।
बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी नेत्रृत्वको चिकित्सक टोलीले सिद्धबाबाको उपचार गरिरहेको छ ।
सप्तकोशी अनलाइनबाट