उपनिर्वाचनः देशैभरी शान्तपूर्ण निर्वाचन शुरू

उपनिर्वाचनः देशैभरी शान्तपूर्ण निर्वाचन शुरू

धरान उमपहानगरपालिकाको मेयर वडा अध्यक्षको लागि आज विहान ७ बजे देखि मतदान शुरू भएको छ । सुनसरीको धरान उपमहानगरपालिकामा नगरप्रमुख र एक वडाध्यक्ष पदका लागि मतदान शुरु भएको हो । धरानमा रहेको २८ मतदान केन्द्र र ९९ मतदानस्थलमा मतदान शुरु भएको हो ।
मतदानका लागि निर्धा्रित गरिएको समय बिहान ७ बजेबाट मतदान शुरु भएको छ धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का अध्यक्ष पदका लागि मतदान शुरु भएको हो । धरानमा ९२ हजार ५५३ मतदाता रहेका छन् । निर्वाचनलाई लक्षित गरेर धरानको सुरक्षा व्यवस्था कडा पारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।
उता भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदको पनि उपनिर्वाचनका लागि आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वडा र भक्तपुर नगरपालिकाको वडा नं १० गरी १० वडामा कूल २२ मतदानस्थलका ५४ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
कूल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी ४५ हजार १५ मतदाता रहेको यो प्रदेशमा बिहानैदेखि उत्साहजनकरूपमा मतदाता मतदानमा लामबद्ध भएका छन् । अधिकांश मतदानस्थलमा बिहान ६ बजेदेखि नै मतदाता पुगेका थिए
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आज बिहान ७ बजेबाट शान्तिपूर्णरूपमा मतदान शुरु भएको जानकारी दिँदै मतदान केन्द्र, मतदानस्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए ।
मतदाताले शान्तिपूर्णरूपमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाउने गरी व्यवस्था गरिएको उहाँको भनाइ थियो । आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्न सक्ने बताउँदै उनले मतदानस्थलमा नेपाल प्रहरी, बाहिरी घेरामा, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन् ।
उपनिर्वाचनका लागि नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्रसहित कूल १९ उम्मेदवार चुनावी मैदानमा छन् ।
कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धा्रित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।
प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन् । बिहानको समयमा धेरै बेर मतदान गर्नका लागि कुर्न नपर्नुपर्ने उद्देश्यका साथ कतिपय मतदाता बिहानै मतदान गर्न आएका हुन् ।
यसैबीच, मतदानस्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ । कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा पर्छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता छन् । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको हो ।
अर्घाखाँचीको मालारानी गाउँपालिका–३ को एक वडाध्यक्ष पदका लागि मतदान शुरु भएको छ । वडामा तीन हजार ११ मतदाता रहेका छन् । आदर्श मावि खनदह र सुन्दरा मावि सावडाँडा गरी दुई मतदानस्थलका चारवटै मतदान केन्द्रमा मतदान शुरु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।
मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । मालारानी–३ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का यमलाल खनाल, नेपाली काङ्ग्रेसबाट शोभाखर खनाल र राप्रपाबाट रणबहादुर खनाल चुनावी मैदानमा छन् । तत्कालीन वडाध्यक्ष जीवन चौहानको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा स्थानीय तहअन्र्तगत वडाध्यक्ष पदका लागि आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । शान्तिपूर्ण वातावरणमा वडाध्यक्ष पदका लागि मतदान शुरु भइसकेको र मतदाता मतदानस्थलमा आउने क्रम जारी रहेको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जनाकारी दिए ।
सो वडामा ६४६ महिला तथा ७५७ पुरुष गरी कूल एक हजार ४०३ मतदाता छन् उपनिर्वाचनका लागि छिन्नमस्ता गाउँपालिका– ७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सप्तरीको एक मात्र स्थानमा निर्वाचन हुन गइरहेको सो वडाध्यक्ष पदका लागि एक स्वतन्त्रसहित सात उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा निर्वा्चित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वा्चित भएपछि सो पद रिक्त भएको थियो ।
निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । यस्तै जिल्ला सुरक्षा समिति सप्तरीले निर्वाचनका लागि मङ्सिर ११ गते राति ८ बजेदेखि मङ्सिर १५ गतेसम्म सम्पूर्ण छिन्नमस्ता गाउँपालिका क्षेत्र र विष्णुपुर गाउँपालिका–७ क्षेत्रभित्र मदिरा बिक्री, वितरण, उत्पादनलाई पूर्णरूपमा बन्देज लगाएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताउनुभयो ।
त्यस्तै आज बिहान ५ बजेदेखि मतदानकार्य सम्पन्न नभएसम्मका लागि तोकिएबमोजिमको अनुमतिप्राप्त र आकस्मिक सेवासम्बन्धी सवारी साधनबाहेक अन्यलाई विष्णुपुर गाउँपालिकास्थित पश्चिमी कोशी नहरको दक्षिणपट्टिको भागमा सवारी आवगमनमा बन्देज लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा गरि ५३ स्थानमा आज उपनिर्वाचन हुँदैछ ।
स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ । रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् । रासस

सम्बन्धित खवर