५२ रिक्त पदका लागि मतदान सुरु 

५२ रिक्त पदका लागि मतदान सुरु 

 

प्रतिनिधीसभा, प्रदेश र स्थानीय तहको रिक्तपदमा भइरहेको उपनिर्वाचनमा अहिले मतदान भइरहेको छ । उपनिर्वाचन अन्तर्गत ३७ जिल्लामा बिहान ७ बजेदेखि मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधीसभा–१, प्रदेशसभा–३ र स्थानीय तहका लागि ४८ पदमा अपरान्ह ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रिक्त ४८ पदमा ३ सय ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधीसभाकालागि कास्की–२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ  । प्रदेशसभा अन्तरगत भक्तपुर–१ को “क”, बाग्लुङ–२ को“ख” र दाङ–३ को “ख” मा ७८ मतदान स्थल र १ सय ७४ मतदान केन्द्र तोकिएको छ ।

४८ पदकालागि हुने स्थानीय तह उपनिर्वाचनकालागि १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र रहेको आयोग प्रवक्ता श्रेष्ठले बताउनुभयो । उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ जनाले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।  उपनिर्वाचनमा मतदान गर्न मतदाता परिचय पत्र अनिवार्य नगरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनकालागि स्वीकृत अन्तिम नामवलीमा नाम समावेश भएका मतदाताको कारणवस परिचय पत्र प्राप्त नभएको खण्डमा नागरिकता, लाईसेन्स, राहदानी तथा सरकारी कार्यालयबाट फोटो सहित प्राप्त परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यसैबीच उपनिर्वाचन भइरहेको कास्कीको क्षेत्र नम्बर २ स्थित दुई मतदान केन्दमा वम विष्फोट भएको छ । पोखरा महानगरपालिका ९ नयाँबजारस्थित नव प्रभात मावि र वडा नम्बर ३३ बाघमारास्थित सरस्वती टिका माविमा वम विष्फोट भएको हो ।

यद्यपी ती स्थानहरुमा  कडा सुरक्षाकासाथपनि मतदान भइरहेको हाम्रा सहकर्मी लालप्रसाद शर्माले जनाएका छन् । घटना सामान्य भएकाले त्यसले मतदानमा कुनै असर नगर्ने र ढुक्क भएर मतदानमा भाग लिन निर्वाचन आयोगले आग्रह गरेको छ ।

सम्बन्धित खवर