सर्लाही अस्पतालमा भिषण आगलागी

सर्लाही अस्पतालमा भिषण आगलागी

मोरङ, सदरमुकाम मलंगवा स्थित सर्लाही जिल्ला अस्पतालमा आज शुक्रबार दिउँसो आगलागी भएको छ ।

आगलागीबाट कम्प्यूटर, ल्यापटप, फ्रिज लगायतका विद्युतीय उपकरण तथा औषधी समेत जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट अस्पतालमा करिब सात लाख रुपियाँ बराबरको धनमाल जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए । विद्युत् सर्ट भएर अस्पतालको माथिल्लो तल्लामा आगलागी भएको हो ।

प्रहरी, स्थानीय वासिन्दा र अस्पतालका कर्मचारीको सकृयतामा आगो नियन्त्रणमा लिइएको छ । मलंगवा नगरपालिका कार्यालयको दमकल नहुँदा हरिवन नगरपालिकाबाट मगाईएको दमकल नपुग्दै आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आएपछि हरिवनको दमकललाई बाटैबाट फर्काइएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । मलंगवा नगरपालिकाको दमकल भने मर्मतका लागि वीरगंज लगिएको छ । जिल्लाभर दौडाउँदा मलंगवा नगरपालिकाको पुरानो दमकल पटक–पटक बिग्रने गरेको छ ।

केही महिनाअघि पनि सदरमुकाम मलंगवास्थित अशोक होटल अगाडी आगलागी हुँदा मलंगवा नगरपालिकाको दमकल नहुनाले ठूलो क्षति पुगेको थियो । उक्त दमकल मर्मतका लागि लामो समयदेखि वीरगंज राखिएकाले हरिवनबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर