आचार संहिता उल्लंघनका १६ उजुरी निर्वाचन आयोगमा दर्ता

आचार संहिता उल्लंघनका १६ उजुरी निर्वाचन आयोगमा दर्ता

उपनिर्वाचनका क्रममा आचार संहिता उल्लंघनका १६ वटा उजुरी निर्वाचन आयोगमा दर्ता भएका छन् । आचार संहिता उल्लंघन भएको बारे मिडियामा आएका समाचारलाई पनि आयोगले नोटिसमा लिएको हुनाले यो संख्या अरु बढ्ने आयोगले जनाएको छ ।
आचार संहिता उल्लंघनविरुद्ध परेका उजुरीहरु सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका छन् । बढीजसो सरकारी पक्षले पदीय दुरुपयोग गरेका उजुरी परेका छन् । त्यसैगरी आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरेको विषयमा पनि उजुरीहरु परेका छन् ।
उपप्रधानमन्त्री उपेन्द्र यादवले महोत्तरीको पिपरामा गरेको भाषण र दाङको घोराहीमा मुख्यमन्त्री शंकर पोखरेलले गरेको भाषणलाई पनि आयोगले नोटिसमा लिएको स्रोतले बतायो ।
भोलि शनिबार देशभरका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाका लागि कास्कीमा उपचुनाव हुँदैछ भने दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभा सदस्यका लागि उपचुनाव हुँदैछ ।
त्यस्तै धरान उपमहानगरपालिका, मकालु गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र पिपरा गाउँपालिकाको प्रमुखका लागि शनिबार मतदान हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि चुनाव हुँदैछ ।
देशभरिका विभिन्न नगर र गाउँपालिकाका ४३ वडाध्यक्षका लागि शनिबार मतदान हुँदैछ । मतदानका लागि ५५ सय कर्मचारीहरु सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरु मतदान केन्द्र निर्माणमा व्यस्त छन् । अनलाईनखबर

सम्बन्धित खवर