प्रदेश १ मा यो बर्ष धान उत्पपादन घट्यो, ५ प्रतिशतले गिरावट

प्रदेश १ मा यो बर्ष धान उत्पपादन घट्यो, ५ प्रतिशतले गिरावट

प्रदेश १ मा यो वर्ष धानको उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा प्रदेश १ मा ५ दशमलव २५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो ।
प्रदेश अन्तरगत पर्ने १४ जिल्लाको ९३ प्रतिशत धान उत्पादनयोग्य जमिनमा धान खेती गरिएको थियो । प्रदेश १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेति गर्न सकिने भएपनि यो वर्ष ३ लाख २० हजार १ सय ३४ हेक्टरमा खेति गरिएको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ ।
यो वर्ष प्रदेश १ मा ११ लाख ९८ हजार ७ सय ४० मेट्रिक टन धान उत्पादन भएको अनुमानित विवरण निर्देशनालयले सार्वजनिक गरेको छ । किसानहरुले अझै धान काट्ने र दाउनी गर्न बाँकी रहेकोले अन्तिम विवरण आउन केही समय पर्खनु पर्ने निर्देशनालयका सूचना अधिकृत प्रकाशकुमार डाँगीले जानकारी दिनुभयो ।
निर्देशनालयका अनुसार अघिल्लो वर्ष भन्दा ६२ हजार ९ सय २५ मेट्रिक टन कम उत्पादन भएको हो । अघिल्लो वर्ष प्रदेश १ मा १२ लाख ६१ हजार ६ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष सोलुखुम्बुमा धान खेति योग्य शतप्रतिशत जमिनमा धान खेति गरिएको थियो ।
यस्तै झापामा धानको उत्पादकत्वपनि सबै भन्दा राम्रो छ । झापामा यो वर्ष प्रतिहेक्टर ४ दशमलव ५० मेट्रिक टनको दरले धान फलेको निर्देशनालयले जनाएको छ । धान उत्पादनमा महत्वपूर्ण योगदान दिने झापा, मोरङ र सुनसरी मध्ये यो वर्ष मोरङ र सुनसरीको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव १० मेट्रिक टन रहेको छ ।
पहाडी जिल्लाहरुमध्ये धानको उत्पादकत्व धनकुटामा सबैभन्दा राम्रो देखिएको छ । खोटाङको उत्पादकत्व सबैभन्दा कम १ दशमलव ७५ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । प्रदेशको धान उत्पादकत्व भने सन्तोषजनक रहेको छ । यो वर्ष औसतमा ३ दशमलव ७४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको छ ।

सम्बन्धित खवर