उपनिर्वाचनका लागि मतपत्र र पेटिका पठाउन सुरु भएको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सामग्रीहरु भौगोलिक रुपमा विकट गाउँमा पठाउन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय संखुवासभाका प्रमुख चोलाराज दङ्गालले जानकारी दिएका छन् ।
पहिलो चरणमा भौगोलिक रुपमा विकट मानिएका मकालु गाउँपालिकाको पाँचपोखरी आधारभूत विद्यालय निभारे र सेतीकन्या निम्न माध्यमिक विद्यालय कारमारङमा मंगलबार मतपत्र र मतपेटिकासहित कर्मचारी पठाइएको निर्वाचन कार्यालय प्रमुख चोलाराजले जानकारी दिए।
बुधबारसम्ममा दुई वटै स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी खटाइने छ।
उपनिर्वाचनका लागि ७४ जना कर्मचारी खटाइने छ।’ संखुवासभामा १० मतदान स्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलमा मानिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए।
प्रजिअ दुलालका अनुसार एक मतदान स्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचीमा राखिएको छ। निर्वाचन हुने मकालु गाउँपालिकामा ९ हजार १ मतदाता रहेका छन् भने खाँदबारी नगरपालिका–३ मा १ हजार ८३० मतदाता छन्। मकालुमा गाउँपालिका अध्यक्ष र खाँदबारी–३ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
