सामुदायिक विद्यालयका ठेकेदार भागे, अपुरो भवन डेटिङ स्थल भयो

सामुदायिक विद्यालयका ठेकेदार भागे, अपुरो भवन डेटिङ स्थल भयो

झापा, भारतीय सहयोगमा निर्माणाधीन झापाको एक सामुदायिक विद्यालय भवन विगत एक वर्षदेखि अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीका ठेकेदार बेपत्ता भएका छन्। ठेकेदारले अलपत्र छाडेका अधुरो विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बन्ने गरेको विद्यालयका शिक्षक तथा अभिभावक बताउँछन्।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनका लागि अनुकूल वातावरण नहुनुका साथै कक्षा कोठाहरूमा झ्याल, ढोका र घेरावारासमेत छैन। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका ३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयको अलपत्र अवस्थामा छाडिएकै भवनमा विद्यार्थी वर्षौंदेखि जोखिम मोल्दै पठनपाठन गर्न बाध्य छन्। ३२ कोठे दुई तले विद्यालय भवन अधुरो छाडेर विगत एक वर्षदेखि निर्माण कम्पनीका ठेकेदार सम्पर्क्विहीन बनेका हुन्। विद्यार्थी विगत १० वर्षदेखि सुविधायुक्त कक्षा कोठामा पठनपाठन गर्न पाउन सकेको छैन। भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन, खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ, विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न थालेका छन्।

विस २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तोरन्ततिका लागि भारत सरकार तथा भारतीय राजदूतावसले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए। २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएको थियो। ठेक्का लिएको करिब चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताए। तत्कालीन जिल्ला विकास समिति झापाको प्राविधिक रेखदेखमा सुरु भएको विद्यालय भवनको निर्माण कार्य विगत एक वर्षदेखि ठप्प बनेको उनले बताए।

पहल गरिरहेका छौँ जनप्रतिनिधि

देशको संघीय संरचना परिवर्तन भई तीन तहको सरकार गठन भइसकेको पनि दुई बित्यो, तर २०६७ सालमा लागेको भवनको ठेक्का १० वर्ष बित्न लाग्दासमेत जस्ताको त्यस्तै छ। भारतीय सहयोगमा बन्ने विद्यालय भवनको निर्माण कार्य सम्पन्न गराउन जिल्ला समन्वय समिति झापाले पहल गरिरहेको अध्यक्ष सोमनाथ पोर्तेलले बताए। ‘निर्माण कार्यमा ढिलासुस्ती भएकै हो, हामीले पनि भवनको अनुगमन गरेर सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ’, अध्यक्ष पोर्तेलले भने, ‘निर्माण कम्पनीले काम गर्ने आश्वासन दिएको छ, २०७७ वैशाखसम्म अधुरो काम सम्पन्न हुन्छ।’

सम्बन्धित खवर