किन ढिलाइ भइरहेको छ माथिल्लो तामाकोशीको काम ?

किन ढिलाइ भइरहेको छ माथिल्लो तामाकोशीको काम ?

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा अपेक्षाकृत गति पैदा हुन नसकेपछि सरकारले चासो व्यक्त गरेको छ । भारत भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कम्पनी टेक्सम्याकोका उच्च अधिकारीसँग छलफल गर्नुभएको छ ।

राष्ट्रिय गौरवका रुपमा रहेको आयोजनाको निर्माण प्रक्रियाले अपेक्षाकृत रुपमा गति लिन नसकेपछि उच्च सरकारी नेतृत्वले नै निर्माण व्यवसायीको प्रधान कार्यालय कोलकाता पुगेर छलफल गरेको हो । आयोजनाको सबैभन्दा जटिल मानिएका दुई वटा ठूला सुरुङको काम हाल जारी छ । तर अपेक्षाकृत रुपमा काम हुन सकेको छैन ।

अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले जिम्मा लिएको तल्लो ठाडो सुरुङमा फलामका पाइप राख्ने कामले गति लिएको भए पनि माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काममा अपेक्षाकृत प्रगति हुन सकेको छैन ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार अष्ट्रियन कम्पनीले जिम्मा लिएको तल्लो सुरुङमा हालसम्म १४० मिटर फलामको पाइप जडान गरिसकिएको छ । अष्ट्रियन कम्पनीले अब २३२ मिटर पाइप जडान गर्न बाँकी छ । तल्लो ठाडो सुरुङको कूल लम्बाइ ३७२ मिटर छ । कूल पाँच मिटर लम्बाइ र २७ टन तौल भएका फलामका पाइप जडान भइरहेको छ ।

“ठाडो सुरुङमा काम गाह्रो छ तर राष्ट्रिय आवश्यकताका आधारमा शीघ्र अगाडि बढोस् भन्ने सरकारको अपेक्षा छ, हाम्रो पनि त्यही अपेक्षा छ”, प्रवक्ता न्यौपानेले भन्नुभयो ।

भारतीय कम्पनी टेक्सम्याकोले जिम्मा लिएको माथिल्लो ठाडो सुरुङमा हालसम्म मात्रै ५२ दशमलव पाँच मिटर फलामको पाइप जडान भएको छ । सो सुरुङको कूल लम्बाइ ३१० मिटर छ । अझै २५७ दशमलब पाँच मिटरमा फलामको पाइप जडान गर्न बाँकी छ । आगामी चैतसम्म आयोजना सम्पन्न गर्नुपर्ने सीमा निर्धारण गरिएको छ ।

कामको गति हेर्दा तोकिएको समयमा काम पूरा हुन कठिनाइ हुने देखिएपछि सचिव घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले टेक्सम्याकोका अध्यक्ष एसके पोद्दार र व्यावसायिक सल्लाहकार आर महेश्वरीसँग संवाद गर्नुभएको भेटमा सहभागी माथिल्लो तामाकोशी आयोजनाका प्रतिनिधि विमल गुरुङले जानकारी दिनुभयो ।

“आयोजनाको कामलाई गति दिने विषयमा भएको छलफल असाध्यै महत्वपूर्ण रह्यो । माथिल्लो ठाडो सुरुङको कामलाई थप गति दिन निर्माण व्यवसायीको अध्यक्ष र सल्लाहकारले प्रतिबद्धता जनाउनुभएको छ”, गुरुङले भन्नुभयो । भारतीय कम्पनी टेक्सम्याकोले आगामी तीन हप्ताभित्र थप जनशक्ति उपलब्ध गराएर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारबाट पेनस्टक पाइप जडान शुरु गरिएको थियो । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको हाल भौतिक प्रगति ९८ दशमलव पाँच प्रतिशत पुगेको छ । आयोजनालाई गति दिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई विशेष जिम्मेवारी दिनुभएको छ । सोही निर्देशनअनुसार नै हरेक महिना आयोजनास्थल पुगेर कार्यकारी निर्देशक घिसिङले समस्या समाधानमा सहजीकरण गर्दै आउनुभएको छ ।

पछिल्लो पटक तय गरिएको समयतालिकाभित्रै र गुणस्तरमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीहरुलाई प्राधिकरणले ताकेता गरिरहेको छ । सरकारको योजनाअनुसार आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट ९७६ मेगावाट० र त्यसपछि बाँकी पाँच युनिटबाट आगामी असार भित्रमा विद्युत् उत्पादन गरी आयोजनाको निर्माण सम्पन्न गर्नुपर्नेछ ।

कार्यकारी निर्देशक घिसिङले जनशक्ति बढाएर दिनमा तीन चरणमा काम गर्न यसअघि नै निर्माण व्यवसायीलाई आग्रह गरिसक्नुभएको छ । ऊर्जामन्त्री पुनको २०७५ चैत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले हरेक महिना आयोजनास्थलमा पुगी निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्दै आउनुभएको छ । सोही सिलसिला अनुसार नै उहाँले आइतबार टेक्सम्याकोका अध्यक्षलगायतका पदाधिकारीसँग छलफल गर्नुभएको हो ।

मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्नसमेत यसअघि नै निर्देशन दिनुभएको छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानका ठेक्का पाएको भारतीय कम्पनीले काममा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।

माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि घिसिङले गत साउन ६ गते पनि भारतको कोलकातास्थित टेक्स्म्याकोका प्रमुख कार्यकारी अधिकृत जिसीले अग्रवाललाई आयोजनास्थलबाटै फोन गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभएको थियो ।

‘गोरखा भूकम्प’, त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
आयोजनाको निर्माण आर्थिक वर्ष २०७३÷७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि आव २०७५÷७६ को पुस महिनाभित्र निर्माण सक्नेगरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर भारतीय ठेकेदारका कारण आयोजनाको काम प्रभावित भएको थियो । आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण सकिएको छ ।
रेडियो नेपालबाट

सम्बन्धित खवर