शनिश्चरे खानेपानीको साधारणसभा सम्पन्न, अध्यक्षमा पूनः न्यौपाने

शनिश्चरे खानेपानीको साधारणसभा सम्पन्न, अध्यक्षमा पूनः न्यौपाने

पथरी, शनिश्चरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा पूनः मोहन कुमार न्यौपाने बिजयी भएका छन् । शनिबार भएको चौथो वार्षिक तथा चुनावी साधारसभाले दोस्रो कार्यकालका लागि पूनः न्यौपानेलाई नै चुनेको हो ।

मोरङको पथरीशनिश्चरे ४ शनिश्चरे बजार २०७२ सालमा गठन भएको समितिले अब चाँडै नै सुद्ध पिउनेपानी वितरण गर्ने जनाएको छ । नयाँ कार्यसमितिमा खगेन्द्र प्रसाद सिटौला उपाध्यक्ष, ऋषिराज पौडेल सचिव, दिपेन्द्र पाण्डे सहसचिव, मुनादेवी पाण्डे कोषध्यक्ष लगाएत १० सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । लेखा समिति संयोजकमा डिक बहादुर खड्का निर्वाचित भएका छन् । लेखा सदस्यमा चेतन पौडेल र तुलशा देवी दाहाल रहेका छन् ।

कार्यक्रमका अतिथि वडा नं. ४ का अध्यक्ष गोविन्द बहादुर भण्डारीले चाँडो योजना सम्पन्न गर्न सुझाव दिए । योजना सक्नका लागि वडाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । यसका लागि नगर देखि प्रदेश र केन्द्रका सांसदले समेत लगानी गर्नुपर्ने सुझाव भण्डारी दिएका छन् । वडामा अर्को पनि खानेपानी योजनाका लागि खानेपानी मन्त्रालयमा माग गरिएको भण्डारीले बताए ।

हाल सम्म संस्थाले वाल कम्पाउण्ड, कार्यालयसम्म पुग्ने बाटो, बोरहोल प्लेट जडान गर्नुका साथै विधुतीय सामाग्रीहरु सरिद गरेको जनाइएको छ । पालेघर निर्माण, २ वटा डिप बोरिङ, ओभरहेड ट्याङ्कीका लागि पाइप खरिद लगाएतका काम पनि सम्पन्न गरेको छ । आगामी असार मसान्त सम्ममा सक्नेगरी ४ लाख ५० हजार घन लिटरको ओभरहेड ट्याङ्की निर्माणको काम पनि धमाधम भइरहेको सचिव पौडेलले जानकारी दिए । हाललाई वडा नं. ४, ८ र ९ का विभिन्न भूभागलाई कार्यक्षेत्रमा राखेर काम भइरहेको जानकारी दिइएको छ । समितिले आगामी असार मसान्त सम्ममा ट्याङ्की निर्माण, पाइप विछ्याउने ठाउँको सर्भे साथै पाइप विछ्याउने काम सम्पन्न गर्ने, डिप बोरिङको पानी सुद्धिकरण गर्ने, पावर हाउस निर्माण गर्ने लगाएतका योजना अघि सारेको छ ।

समितिले आर्थिक वर्ष ०७४/०७५ मा ६५ लाख ५७ हजार ४२५ रुपैँया आम्दानी गरेर ६२ लाख ७९ हजार ४०० रुपैँया खर्च गरेको आर्थिक प्रतिवेदन पेश गरेको छ । यस्तै खर्चबाट बचेको रकम १६ लाख ४८ हजार ६९२ रुपैया १६ पैसा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै आर्थिक वर्ष ०७५/०७६ मा समितिले २६ लाख १० हजार ५८१ रुपैया ६६ पैसाको आम्दानी गरेको उल्लेख छ । विभिन्न शीर्षकमा २५ लाख १२ हजार १४४ रुपैया ३ पैसा खर्च गरेको छ । हाल समितिसंग १७ लाख ३९ हजार २७४ रुपैया २४ पैसा विभिन्न वैक तथा वित्तीय संस्थामा मौजात रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर