पथरी, मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगर क्षेत्रको कला र साहित्यको विकासका लागि नगरपालिका कार्यालयले सहयोग पुर्याउने वताउनु भएको छ ।
एभरेष्ट आर्ट फ्यूजनको मुख्य र सीएम कन्दङ्वा स्मृति कोषको सहआयोजनामा आज सञ्चालित सृजना चौतारी कार्यक्रमको १४ औं श्रृंखलाको उद्घाटनका क्रममा प्रमुख अतिथि नगर प्रमुख राईले सो कुरा बताउनु भएको हो ।
उहाँले बरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्ललाई सम्मानपत्रले सम्मानित समेत गर्दै नगर क्षेत्रमा बढेको कला क्षेत्रको वातावरणको प्रशंसा गर्दै नगरलाई सृजनात्मक बनाउने कुरामा आफ्नो सधैं साथ रहने जनाउनु भयो ।
कार्यक्रममा, नगरका पुराना लोक गायक वीरध्वज शिवाले गीत प्रस्तुत गर्नुभयो । दमक झापाका प्रकाश आङ्देम्बे र पथरीशनिश्चरेका भूपेन्द्रराज तिम्सिनाले गजल, बेलबारीकी ढाकाकुमारी पराजुली र पथरीशनिश्चरेका रोहित पराईले कविता प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका ५ जना प्रस्तोता तथा वडा नम्वर ३ को पाथीभरा भजन किर्तन मण्डली र पिपलचोक संगीनी समूहलाई सम्मानित गरिएको छ । साथै एभरेष्ट आर्ट फ्यूजनले यस वर्ष संचालन गरेको सृजनात्मक देउसी भैलो कार्यक्रममा सहभागिलाई प्रशंसापत्र समेत वितरण गरिएको छ ।
सो कार्यक्रम अघि बरिष्ठ चित्रकार एवम् कला समीक्षक मुकेश मल्लले समसामयिक कलामाथिको परिचर्चा गर्नुभएको थियो ।