मोरङ, पथरीशनिश्चरे नगरपालिका ८ मा रहेको प्रभात सामुदायिक युवा क्लवले आफ्नो रजत महोत्सवका कार्यक्रमहरु सुरु गरेको छ । २५ वर्ष पुरा गरेको प्रभातको सप्ताहव्यापी कार्यक्रमहरुको एक कार्यक्रमका विच नगरप्रमुख दिलिप कुमार राईले उद्घाटन गरेका छन् ।
शुक्रबार बुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ कार्यक्रम र नवनिर्मित क्लब भवनमा रचना वाचन कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष नविनजंग कार्कीले जानकारी दिए ।
महोत्सवमा सात दिनसम्म विविध कार्यक्रम आयोजना हुने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा अतिथीहरुलाई खादा र ब्याच नलगाइने र सोबाट बचेको रकमले निम्न आर्थिक अबस्थाका भएका परिवारलाई खाद्यान्न सहयोग गर्ने समेत कार्कीले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राईले कार्यक्रम सफलताको शुभकामना दिदै पछिल्लो समय प्रभात सामुदायिक युवा क्लबले समाजमा चेतना सिर्जना गर्न र सामाजिक काममा निकै सक्रियता बढाएको बताए ।
वडा भित्र रहेको क्लबले आयोजना गरेको सो कार्यक्रम मार्फत शुभकामना दिदै क्लबलाई आवश्यक सहयोग गर्ने ८ नम्बर वडाध्यक्ष बाबुराम दाहालले बताए ।
हाजिरी जवाफ प्रतियोगितामा बाल जागरण विद्या मन्दिर प्रथम भएको छ । हाजिरी जवाफ कार्यक्रममा नगरभित्रका १३ विद्यालयले सहभागिता जनाएका थिए ।
पथरीशनिश्चरे नगरपालिकासँगको समन्वयमा आयोजित रचना वाचन कार्यक्रममा साहित्यकार रोहित प्रसाईँ, सुर्य खत्री ‘घायल’, भुपेन्द्र तिमिल्सिना, एभरेस्ट आर्ट फ्युजन पथरीको समूह, युवराज बास्कोटा, एन्जिला पोख्रेल लगायतले आफ्नो रचना वाचन गरेका थिए ।
सात दिनसम्म संचालन हुने कार्यक्रममा म्याराथुन, स्लो बाइक, स्लो साइकल, रक्तदान, सही तरिकाले हात धुने तालिम, ढल्के जोवन फुटबल, तृष्ण बुद्धि परीक्षण, सांस्कृतिक कार्यक्रम, जातीय झाँकी लगायतका कार्यक्रमहरु रहेको आयोजक क्लबले जनाएको छ ।