एकमहिनाभित्र एडिबीको पानी दिइने

एकमहिनाभित्र एडिबीको पानी दिइने

धरान उपमहानगरपालिकाढारा सञ्चालित धरान खानेपानी आयोजनाको ९९.५ प्रतिशत काम सम्पन्न भएको छ । एक महिनाभित्र सबै वडाहरूमा पानीको कनेक्सन भइसक्ने आयोजना प्रमुख इन्जीनियर राजु पोखरेलले जानकारी दिए ।
आयोजनाले लक्षित गरेको भौतिक उद्देश्य १ करोड ९७ लाख २० हजार लिटर पानी उत्पादन कार्यमा शतप्रतिशत भन्दा बढी प्रगति हासिल गरेको उनले दाबी गरेका छन् ।
नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पति र दायित्व हस्तान्तरण गरी संस्थान मातहत रहेका संरचना र सेवा र थप गरिएका संरचना र सेवाको एकीकरण गरी केही वडाका उपभोक्तालाई खानेपानी आपूर्ति समेत शुरु गरिएको उनले जानकारी दिए ।
गत २०७५ असोजमा मन्त्रीपरिषद् बैठकले संस्थानको सम्पति मूल्याङकन गरी आयोजनाको बोर्डमा हस्तान्तरण गर्ने निर्णय भई सर्वोच्च अदालतले गत असारमा परामदेश जारी गरे पनि नेपाल खानेपानी संस्थानले धरान उपमहानगरपालिकाको खानेपानी बोर्डमा हस्तान्तरण गर्न गरेको ढिलाइले सबै वडाहरूमा पानी वितरण गर्न समस्या भएको पोखरेलले जानकारी दिए ।
आयोजनाले करिब आफ्नो काम सकिएको तर नेपाल खानेपानी संस्थानको सम्पति र दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्न मात्र बाँकी रहेको धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले बताइन् । केही दिन अघि संस्थानका कर्मचारीहरूलाई बोर्डमा हाजिर हुन आउनसमेत पत्र बुझाइएको कार्यवाहक मेयर भण्डारीले जानकारी दिइन् ।
आयोजनाले विच्छ्याइएको कुल प्रमुख प्रसारण पाइपलाइन ९२ किलोमिटर ३ मिटर र वितरण पाइपलाइन ४ सय १५ किलो मिटर ५९ मिटर विस्तार गरेको छ । आयाजनाको भौतिक र वित्तीय खर्चमा १ अर्ब ६५ करोड ३ लाख बराबारको कुल भौतिक प्रगति ९९ दशमलव ५ प्रतिशत र वित्तीय प्रगति ९२ दशमलव ९५ प्रतिशत पूरा भएको प्रमुख भण्डारीले जानकारी दिइन् ।

सम्बन्धित खवर