भारतीय पक्षका कारण पशुपतिनगर बजार सुनसान

भारतीय पक्षका कारण पशुपतिनगर बजार सुनसान

नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ । भारतीय सुरक्षाकर्मीले रु २५ हजारभन्दा बढी नगद बोक्न नदिएपछि दैनिक लाखौँको कारोवार हुने पशुपतिनगर नाका सुनसान बन्दै गएको हो । गत असार, साउनयता पर्यटक घट्दै गएका कारण बजार पनि सुनसानजस्तै बनेको स्थानीयवासीको भनाइ छ ।
भारतबाट आउने पर्यटकलाई रु २५ हजारभन्दा बढी नगद बोक्न प्रतिबन्ध लगाएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले रकम जफत गर्न थालेपछि पशुपतिनगर घुम्न आउने भारतीय पर्यटक आउन छाडेको पूर्व संविधानसभा सदस्य लीलादेवी श्रेष्ठले बताइन् । स्थानीय तथा पशुपतिनगर उद्योग वाणिज्य सङ्घकी पूर्वअध्यक्षसमेत रहेकी उनले भारतबाट नेपाल आउने पर्यटकको पैसा चोरी भएपछि भारतीय पक्षबाट कडाइ गर्दा यस्तो समस्या आएको बताइन् ।
दशैं, तिहारजस्ता चाडपर्वका समयमा भीडभाड हुने बजारमा यसपटक खासै मान्छे नआएको व्यापारीको भनाइ छ । दैनिक उपभोग्य वस्तु र लत्ताकपडा खरीद गर्न आउने मानिसको सङ्ख्या ह्वात्तै घटेपछि व्यापारी मारमा परेका छन् । वाणिज्य सङ्घकी पूर्वअध्यक्ष श्रेष्ठले नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले शरीर खानतलासी गरेर रकम जफत गर्न थालेपछि नेपाल आउने पर्यटक घटेको बताइन्

सम्बन्धित खवर