मन्त्री हुन त गोकर्ण विष्ट जस्ता, मन्त्रालय छाड्दा ट्याक्सी चढेर निवास गए

मन्त्री हुन त गोकर्ण विष्ट जस्ता, मन्त्रालय छाड्दा ट्याक्सी चढेर निवास गए

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट आज ट्याक्सी चढेर बाहिरिएका छन् । रामेश्वर राय यादवले आज आफ्नो स्थानमा पदभार ग्रहण गरेपछि विष्ट ट्याक्सी चढेर निवासतर्फ लागेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए । मन्त्री विष्ट योग्य हुँदाहुँदै पनि हटाइएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको उनले बताएका छन् । बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकको पक्षमा इमानदारीपूर्वक काम गरेको प्रतिक्रिया दिएका हुन् । ‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु । थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद ।’, फेसबुकमा लेखेका छन् । बिहीबार शपथ ग्रहण गरेका नयाँ मन्त्रीले पदभार ग्रहण गरिरहेका छन् ।

विष्ट मन्त्री रहुन्जेल मेनपावर व्यावसायीले चर्को बिरोध गर्ने गरेका थिए । बैदेशिक रोजगारीका लागि कुनै प्रलोभनमा नपररी डटेर लागेका मन्त्रीले शून्य लागतमा बैदेशिक रोजगारीको बाटो समेत फकुवा गरेका थिए । विष्ट मन्त्रीबाट बाहिरिएसंगै मेनपावर व्यावसायी हौसिएका छन् ।

सम्बन्धित खवर