मेची नदीमा रहेको अस्थायी बाँसे पुल अज्ञात समूहद्धारा जलाउने प्रयास

मेची नदीमा रहेको अस्थायी बाँसे पुल अज्ञात समूहद्धारा जलाउने प्रयास

झापा, नेपाल–भारत सीमामा रहेको मेची नदीमा बनाइएको अस्थायी बाँसे पुल अज्ञात समूहले जलाउने प्रयास गरेको छ।

१०९ नम्बर सीमा पिलर रहेको भद्रपुर नगरपालिका–३ स्थित भैसाबाडी नाकामा पर्ने मेची नदीमा स्थानीयले सहजताका लागि अस्थायी बाँसे पुल बनाएका छन् । पुलदेखि भारतीय भूमि ५०० मिटर दूरीमा पर्छ। वडा नम्बर ३ को कार्यालयको समन्वयमा भैसाबाडी टोल विकास समितिले स्थानीयबाट आर्थिक सङ्कलन गरी बनाएको बाँसे पुल गए राति जलाउने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

‘बाँसे पुलको बीच भागमा आगो लगाइएको छ,’ प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले भन्नुभयो– ‘आगोबाट पुलको केही बाँसका भाटा मात्र जलेको छ।’ पुलमा आगो कसले किन लगाएको हो भन्ने बारेमा सीमा प्रहरी चौकी पृथ्वीनगरले अनुसन्धान गरिरहेको छ। भैसाबाडी टोल विकास समितिका निमलाल गणेश र पल्टन गणेशको नेतृत्वमा नदीमा बाँसे पुल बनाइएको हो। पुल तरे बापत समितिले ५ देखि २० रुपैयाँसम्म शुल्क लिने गरेको स्थानीयको भनाइ छ।

घटनास्थल पुगेको प्रहरीले भने पुल तर्दा पैसा उठाउने गरेकाले आगो लगाउन खोजिएको हुन सक्ने अनुमान गरेको छ। घटनाको सशस्त्र प्रहरी बल झापा २ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक रेसम कुमार थक्सु, भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले स्थलगत अनुगमन गरेका छन् ।

सम्बन्धित खवर