‘अपहरण’ गरिएको आयल निगमको ट्यांकर धनुषामा भेटियो

‘अपहरण’ गरिएको आयल निगमको ट्यांकर धनुषामा भेटियो

सिरहाको लहानबाट अपहरण गरेको भनिएको नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर प्रहरीले फेला पारेको छ ।
मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(१ स्थित रमदैयामाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले ढल्केबरबाट १० किलोमिटर दक्षिणमा मंगलबार राति नै ट्यांकर भेटिएको पुष्टि गरे ।
भेटिएको ट्यांकरमा तेल खन्याइएको छ । तेल कहाँ खन्याइयो भन्ने खुलेको छैन ।
बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोबाट २० हजार लिटर डिजेल भरेर प्रदेश १ को राजधानी विराटनगरतर्फ जाने क्रममा ना.४ख ४१६३ नम्बरको टयांकर सोमबार राति अपहरण गरेको बताइएको थियो । यद्यपि, दाबी गरिएजस्तो टयांकर अपहरण भएको थियो या चालककै संलग्नतामा तेल बिक्री गर्न अपहरणको बहाना गरिएको थियो भन्ने खुलेको छैन ।
टयांकरका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको डीआईजी कार्कीले जानकारी दिए ।
नेपाल आयल निगमले पनि घटनाबारे छानबिन गर्न इञ्जिनियर अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन गरेको छ ।

सम्बन्धित खवर