गाउँपालिकाद्धारा गर्भवतीलाई अण्डा उपहार

गाउँपालिकाद्धारा गर्भवतीलाई अण्डा उपहार

 

गर्भवती महिलाकालागि सुनसरीको बर्जु गाउँपालिकाले अण्डा उपहार दिन सुरुवात गरेको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरि गाउँपालिकाको कार्यालयले वडा नम्वर २ बाट सो अभियानको थालनी गरेको छ ।
गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले अभियानको शुभारम्भ गरेका हुन् । नियमित स्वास्थ्य जाँच गराउने परिपाटीको विकास गराउने उद्येश्यसाथ गर्भवतीकालागि पौष्टिक आहार वितरण कार्यक्रमको थालनी गरिएको अध्यक्ष चौधरीले बताउनु भयो । गाउँपालिकाको कार्यालयले सबै वडामा अभियानलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ ।
स्वास्थ्य जाँचमा नियमित पहुँच बढाउनुका साथै कुषोषण मुक्त समाज निर्माणकालागि पौष्टिक आहारको कार्यक्रम संचालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीले जानकारी दिए ।
बर्जुमा विगतको दाँजोमा स्वास्थ्य संस्थामा पुगेर नियमित जाँच गराउनेको संख्यामा वृद्धि भएपनि सरकारी लक्ष्य अनुरुपको उपलब्धी भने हात पर्न सकेको छैन् । गाउँपालिकाले नमूना कार्यक्रमका रुपमा अण्डा उपहार कार्यक्रम संचालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु श्रेष्ठले बताए ।
जिल्लामै पहिलो पटक गर्भवतीलाई अण्डा उपहार कार्यक्रम थालनी बर्जु गाउँपालिकाले गरेको दाबी गरेको छ । सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष संगिता कुमारी राय, प्रमुख प्रशासकीय अधिकृत नवराज कार्की, वडाध्यक्षहरु श्याम कुमार गुरुङ, आनन्द यादव, किशोर कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाले जेष्ठ नागरिककालागि निःशुल्क दाँत उपहार कार्यक्रम समेत सञ्चालनमा ल्याउन लागेको छ ।

सम्बन्धित खवर