रङ्गेली बजारको घर नगरपालिकाले भत्कायो

रङ्गेली बजारको घर नगरपालिकाले भत्कायो

विराटनगर–रङ्गेली हुँदै झापा जोड्ने हुलाकी मार्ग अन्तर्गत पर्ने रङ्गेली बजार क्षेत्रको घर नगरपालिकाले स्काभेटर प्रयोग गरेर भत्काएको छ । रङ्गेली नगरपालिकाले सडक क्षेत्रमा पर्ने घरहरू हटाउन पटक–पटक जारी गरेको सूचनालाई अटेर गरेको भन्दै सोमबार स्काभेटर लगाएर घर भत्काएको हो ।
सडक विस्तारको क्रममा रङ्गेली बजारमा पर्ने मङ्गलचन्द अग्रवालको घर नगरपालिकाले २ वटा स्काभेटर प्रयोग गरेर भत्काएको छ । नगरपालिकाले पटक–पटक सूचना जारी गरी सडक क्षेत्रमा पर्ने घरहरू हटाउन गरेको आग्रहलाई बेवास्ता गरेपछि बाध्य भएर हटाउनु परेको रङ्गेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले जानकारी दिए ।
नगरपालिकाले अग्रवालको घर हटाउन दुई वटा स्काभेटर प्रयोग गरेको थियो । कुनै पनि अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । सडक क्षेत्रको घर भत्काउन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।
विराटनगर–झापा हुलाकी मार्गअन्तर्गत रङ्गेलीक्षेत्रको करिब साढे ७ किमी सडक सय फिट चौडा निर्माण शुरु भएको छ । यो काम २ वर्ष्भित्रमा सम्पन्न हुनेछ । यो क्षेत्रमा पर्ने सय वर्ष पुराना ८७ घर भत्कँदै छन् । अहिलेसम्म ८० घर सम्बन्धित धनीले आफै भत्काइसकेको प्रमुख बगडियाले बताए ।
‘विकासको गति बढेको भन्दै यहाँका स्थानीयले स्वतःस्फूर्त घर भत्काउन शुरु गरेका छन्’ रङ्गेली नगरपालिका प्रमुख बगडियाले भने, ‘नगरपालिकाले पटक–पटक सडक क्षेत्रमा पर्ने घर हटाउन जारी गरेको सूचनालाई अटेर गर्नेको मात्र घर भत्काएका छौं ।’
२०३४ मा विराटनगर, रङ्गेली र भद्रपुरसम्मको सडकलाई सहायक मार्गमा वर्गीकरण गरी उक्त सडकको केन्द्र विन्दुबाट दायाँ–बायाँ १५–१५ मिटर चौडा गर्ने सूचना राजपत्रमा प्रकाशित भएको थियो । ब्लाष्टखबर

सम्बन्धित खवर