युवासंघ अध्यक्षमाथी कर्तव्य ज्यानको आरोप, पौडेल भन्छन मेरो कुनै संलग्नता छैन्

युवासंघ अध्यक्षमाथी कर्तव्य ज्यानको आरोप, पौडेल भन्छन मेरो कुनै संलग्नता छैन्

मोरङ, मोरङको कानेपोखरी–६ मा ४ महिना अघि मृत्यु भएका मोहनसिंह थापाको हत्या भएको उनका परिवारले जिकिर गरेका छन् । मृतककी दिदी मुना थापा जेठा दाजु नरेन्द्र सहितका आफन्त र छिमेकीहरुले आफ्नो कान्छो भाइलाई बुहारीले नै हत्या गरेको भन्दै पथरी प्रहरीलाई गुहार मागेका छन् ।

४३ वर्षीय मोहनसिंह थापाको गत असार २४ गते मृत्यु भएको थियो । थापाको असार २४ राति ९ बजे आत्महत्या भएको हल्ला भयो । बिहान ८ बजे तिर प्रहरीले शव पोष्टमार्टमका लागि मङ्गलबारे अस्पताल लग्यो । अस्पतालको रिपोर्ट आए पछि प्रहरीले अनुसन्धान अघि बढाउने विश्वासका साथ परिवारले अन्त्येष्टि पनि गर्यो । घटना आत्महत्या वा कर्तब्य गरी मारेको भन्ने बिषयमा मेडिकल रिपोर्ट आएपछि अनुसन्धान होला भन्दा भन्दै ४ महिना बित्यो तर घटनाको सत्य तथ्य केही बाहिर नआएपछि आफुहरु न्यायको लागि गुहार मागेको मृतकका आफन्त बताउँछन् ।

मृतकको सामाजिक परम्परा अनुसार १३ दिने काम पनि भयो । २ छोरी र श्रीमती मन्दिरा थापाले किरिया गरे । भाईको काम सकेपछि भाइको हत्या भएको भन्दै दिदी र दाजुहरु इलाका प्रहरी कार्यलय पथरीमा आए तर प्रहरीले कुनै प्रतिक्रिया दिएन । दिदी मुनाले नेकपाका कास्की जिल्ला सदस्य रोहित सापकोटाको सहयोगमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको पत्र सहित भाईको लागि न्याय खोज्दै पथरी प्रहरीसँग पुगेकी छिन् ।

घटना के कसरी भयो, हत्या वा आत्माहत्या रिपोर्ट नआई शव नउठाउने भन्दै मृतकका जेठा दाजु नरेन्द्र थापाले तत्काल इलाका प्रहरी कार्यालय पथरीमा अडान लिएपनि हाल युवा संघ नेपाल मोरङ जिल्ला अध्यक्ष नविन पौडेल र प्रहरीले घटना ढाकछोप गर्न अन्त्येष्टि गर्न दवाव दिएको आरोप दाजु नरेन्द्र र दिदी मुनामायाको छ । मृतककी श्रीमती मन्दिरा थापा युवा संघ गाँउ कमिटी महिला बिभाग पूर्व प्रमुख समेत हुन् । त्यसो त स्थानीयले उसैबेला पनि शवको प्रकृति हेरेर थापाले आत्महत्या नभई हत्या भएको हुन सक्ने अनुमान लगाएका थिए । तर मर्ने मरेर गए गाउँमा छुच्चो किन हुनु भन्दै कोही पनि नबोलेको छिमेकीहरूको भनाई छ ।

थापा १० वर्ष बिदेश बसेर ०७५ फागुनमा मात्र घर आएका थिए । १० बर्ष बिदेश बसेर कमाएको सम्पत्तिको हिसाव खोज्दा श्रीमान श्रीमती बिच झगडा हुने गरेको मृतकका दाजु बताउँछन् । घर आउदा सबै जग्गा जमीन आफ्नो नाममा पारिसकेकी र पार्टीको काम छ भन्दै बाहिर हिडेकाले हरेक दिन झगडा हुने गरेको थियो ।

“थापा झुण्डिएको श्रीमती बाहेक कसैले पनि नदेख्नु, थापाको शवमा घाउहरू प्रसस्तै हुनु, अण्डकोष सुनिनु, घाँटीमा पासोको चिन्ह नहुनु, दुई चार घर पर रहेका साइला दाजुलाई घटना भएको ४ घण्टा पछि मात्रै खबर हुनु, ३ दिन अगाडी घरका बाख्रा, कुखुरा माइत लानु, घटना भएको रात छोरीलाई माइत पठाउनु जस्ता घटनाले बुहारी र पौडेल माथि शंका भएको मृतकका जेठा दाजु नरेन्द्र थापा र दिदी मुना थापाले बताउँछन् । मृतककी दिदीले पौडेलले आफ्ना भाइलाई ग्यालेनमा रक्सी ल्याई दिने र बुहारीलाई मोटरसाइकलमा घुमाउने गरेको आरोप लगाइन् ।

यता युवा संघ नेपालका जिल्ला अध्यक्ष नविन पौडेलले भने “उहाँहरुलाई पिर परेको होला घटनाको सत्य तथ्य खोज्नु र शंका गर्नुलाई नकारात्मक मानिदैन म माथि शंका भयो स्वभाविक हो जहाँ पनि सहयोग गर्ने कुरामा अगाडी भएकाले त्यसो भएको होला अनुसन्धान होला तर आफ्नो कुनै संलग्नता नरहेको उनले बताएका छन् । यस बिषयमा ईलाका प्रहरी कार्यलय पथरीका डिएसपी लक्ष्मीराज अधिकारीसँग सम्पर्क गर्दा घटनाको बारेमा थप अनुसन्धान भईरहेको बताए । उनले मंगलबारे अस्पतालका डा. रितेष कुमार कर्णले दिएको पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या नै भएको बताएका छन् । मृतकका दाई प्रेमबहादुर थापाले घटना भएको भोलिपल्ट भाईले मदिरा सेवन गर्ने गरेको र सोही कारण मृत्यु भएको प्रहरीलाई बताएपनि अर्का दाजुले थप अनुसन्धानका लागि जिल्लाबाटै पत्र ल्याएपछि अनुसन्धान शुरु गरिएको बताएका छन् ।

सम्बन्धित खवर