उपनिर्वाचन विशेष रिपोर्ट; धरानको मेयरमा कस्ले मार्ला बाजी ?

उपनिर्वाचन विशेष रिपोर्ट; धरानको मेयरमा कस्ले मार्ला बाजी ?

विवेक विवश रेग्मी, इटहरी

आगामी मंसिर १४ गते धरानसहित देशैभरी निर्वाचन आयोगले उपनिर्वाचन गर्ने घोषण गरेसँगै आम मानिसमा अहिले उत्साह छाएको छ । विशेषगरी देशैभरीको तुलनामा धरान उपमहागरपालिकाको मेयर पदमा हुन लागेको निर्वाचनमा आम मानिसको ध्यान केन्द्रीत भएको छ । धरानको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट तिलक राई चुनावी प्रतिष्पर्धामा रहेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रकाश राई चुनावी प्रतिष्पर्धामा होमिएका छन् । त्यसैगरी धरानमा संघीय समाजबादी पार्टी मात्र नभई साझा पार्टीले समेत आफ्नो उमेद्धारी अगाडि सारिसकेको छ ।

धरानमा गत २०७४ मंसिरमा भएको निर्वाचनमा तत्कालिन नेकपा एमालेका तारा सुब्बाले कांग्रेसका तिलक राईलाई हराउँदै मेयर पदमा बिजेता हाँसिल गरेका थिए । तर, सुब्बा मेयर भएको एक बर्ष नबित्दै निधन भएसँगै रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । ‘मैले पाँच बर्षका लागि तत्कालिन एमालेका तारा सुब्बालाई सफलताको शुभकामना सहित बधाई दिएको थिएँ,’ नेपाली कांग्रेसबाट धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा होमिएका तिलक राईले शनिबार धरान १७ स्थित घरदैलो कार्यक्रममा स्थानीय सर्वसाधारण मानिसहरुसँग भने, ‘तर उहाँको निधन भएसँगै हामी चुनावी मैदानमा रहेका छौँ, न यो निर्वाचन नेपाली जनताले चाहेको हो, न नेपाली कांग्रेसले नै ।’ उनले तत्कालिन एमाले पार्टीेले सर्वसाधारण मानिसहरुलाई झुक्याएको आरोप लगाउँदै भने, ‘एमालेले तत्काल यहाँ रहेका सुकुम्बासी मानिसहरुलाई घर नम्बर दिएर झुक्याएको छ, आश्वासनले मात्र नगर र देश चल्न असम्भव रहेको छ, अबको निर्वाचनमा मैले जितेको खण्डमा यहाँ भएको बिकृति सँगै करबृद्धिलाई नियन्त्रण गर्ने कुरामा ढुक्क छु ।’ उनले आँफूले यो पटक कुनै पनि हालतमा निर्वाचन जित्ने दाबी गर्दै भने, ‘यो भन्दा अगाडिको निर्वाचनमा मैले चुनाव हारेको हैन, उपविजेता मात्र भएको हुँ र यो पटक मैले मात्र नभएर आम मानिसले निर्वाचन चाहेको हैन, नेकपाका कारण निर्वाचन हुँन लागेको हो, र मैले चुनाव जित्नेछु ।’ उनले तत्कालिन तारा सुब्बा दीर्घ रोगी भएको थाहा पाउँदा पाउँदै पनि नेकपाले टिकट दिएर निर्वाचन जित्नु अशोभनीय रहेको बताउँदै अहिलेको निर्वाचनमा खर्च सँगै नेपाली जनताको समय नष्ट भएको बताए । उनले आँफूले चुनाव जितेको खण्डमा कुनै पनि हालतमा अहिलेको महंगी, भ्रष्टाचार र कर निर्मूल पार्ने कुरामा आश्वासन दिलाए ।

गत २०७४ सालको चुनावमा तत्कालिन एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर उपमहानगरपालिकाको मेयर पदमा बिजेता भएका थिए । तर, उनको २०७५ श्रावण १ गते फोक्सोको निमोनियाका कारण ग्राण्डी अस्पताल काठमाडौँमा निधन भएसँगै मेयर पद रिक्त हुँदै आएको छ । उक्त समयमा कांग्रेसबाट चुनावी मैदानमा होमिएका तिलक राईले १६ हजार १०२ मत प्राप्त गरेका थिए । यहाँ एमाले र कांग्रेसवीचको मतान्तर ४ हजार ८७३ रहेको थियो । अहिले उनै तिलक कांग्रेसबाट चुनावी मैदानमा होमिएका छन् । त्यसो त नेकपाका उमेद्धार प्रकाश राई पनि कमजोर उमेद्धार भने हैनन् । प्रकाशले आँफूले चुनाव जितेमा धरानमा भएको कर बृद्धिलाई न्यूनीकरण गर्ने बताउँदै आएका छन् । ‘धरानको करको बिषयमा म गम्भीर रहेको छु,’ राईले शनिबार घरदैलो कार्यक्रममा भने, ‘मैले निर्वाचन भएको खण्डमा यहाँको कर मात्र नभएर आम मानिसको चाहना अनुरुप काम गर्ने विश्वास दिलाउँछु ।’

धरानमा २० वटा वडाहरु रहेका छन् भने २०७४ सालमा धरानको मतदाता संख्या ७९ हजार २९० रहेको थियो । अहिले सो मतदाता मध्ये १३ हजार मतदाता थप भएका छन् । उनै १३ हजार मतदाताको हातमा धरानमा हुने चुनावको घोषणा रहेको छ । आगामी मंसिर १४ मा धरानको मेयरसँगै वडा नं ७ का वडाध्यक्षको समेत चुनाव हुन लागेको छ । त्यसो त अहिले सरकारप्रतिको असन्तुष्टी, महंगो कर बृद्धि मात्र नभई विकास निर्माणमा पनि सरकारले चासो नदेखाएका कारण धरानमा नेपाली कांग्रेसले चुनाव जित्ने विज्ञहरुको तर्क रहेको छ । तर, अहिले धरानमा नेपाली कांग्रेस, नेकपा, समाजबादी र साझा पार्टीबाट मेयर पदमा उमेद्धारी घोषणा गरेसँगै अहिले धरानको चुनावी माहोलमा उत्साह सँगै कस्ले बाजी मार्ने भन्ने बिषयमा जिज्ञासा छाएको छ । अब यो पटक धरानको चुनाव कस्ले जित्ने भन्ने बिषयमा अहिले प्रत्येक चिया पसलदेखि चौक चौकमा चर्चा समेत हुने गरेको छ ।

सम्बन्धित खवर