भीमराज अधिकारी, पथरी
राज्यले हरेक नागरिकको अनिवार्य बैंक खाता हुनुपर्ने कुरा आइरहेको छ । अर्थमन्त्री युवराज खतिवडाले राज्यलाई क्यासलेस (नगद कारोबार नगर्ने) नीति लिइरहेका बेला बैंकहरुले पनि यसलाई सहजिकरण गरेका छन् । काकडभिट्टा, विराटनगर, धरान सम्म पुग्ने यात्रुले अब नगद बोक्ने झनझटबाट मुक्त भएका छन् ।
कामना सेवा बैंक पथरी शाखाले सार्वजनिक यातायातमा क्युआर कोड राखेपछि नगदको झनझट हटेको हो । कामनाले पहिलो चरणमा पथरी कार्यालय रहेको भुल्केदेवी यातायातका ११ वटा बसमा क्युआर कोड राखेको शाखा प्रमुख बिरेन्द्रसिंह भण्डारीले बताए । यात्रुहरुले नगद बोक्दा चोरी हुनसक्ने लगाएतका विभिन्न समस्याहरु आउने गर्दछन् । अब भुल्केदेवी यातायातमा यात्रागर्ने यात्रुको कुनैपनि बैंकमा खाता छ भने नगदको झनझट नहुने भण्डारीको भनाइ छ । मोबाइल, इन्टरनेट बैंकिङ चलाइरहेका यात्रुले कोड स्क्यान गरेर आफ्नो भाडा तिर्न सक्ने छन् ।
कामनाले यससंगै पथरीका विभिन्न व्यावसायिक स्थानहरुमा पनि यो सेवा विस्तार गरेको छ । टपसप फेसन वेयर, अधिकारी फेन्सी, चापाँगाई मेडिकल हल, टपरी मःम लगाएतका स्थानमा गरी हाल सम्म पथरी शाखाले २२ वटा क्युआर कोड वितरण गरेको भण्डारीले जानकारी दिए । कामनासंगको सहकार्य भएका स्थानहरुमा केही प्रतिशत छुट समेत रहेको भण्डारीले बताए ।