बङ्गलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै

बङ्गलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज (बिहीबार) पर्यटकीय नगरी पोखरा भ्रमणमा जाँदै छन् । राष्ट्रपति हमिद बिहीबार बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।
पोखराको पर्यटकीय क्षेत्रको भ्रमणमा राष्ट्रपति हमिद पोखरा जान लागेका हुन् । उनको स्वागतको सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्ने कार्यक्रम छ ।
राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा दुई झाँकी देखाउने तयारी गरिएको छ । पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गर्नेछन् ।
राष्ट्रपति हमिदको भ्रमणको लागि पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए
पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा आराम गर्नुका साथै केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम छ । उनी रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट गएर त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने छन् । उनी आजै काठमाडौँ फर्कने कार्यक्रम छ ।

सम्बन्धित खवर