पाँचथरमा टिपर दुर्घटना‚ चालकसहित दुईजनाको मृत्यु

पाँचथरमा टिपर दुर्घटना‚ चालकसहित दुईजनाको मृत्यु

कात्तिक २७, २०७६ पाँचथर
निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा कन्सट्रक्सन प्रालिको बा २ ग २९२० नम्बरको टिपर चालक धादिङ घर भएका करिब २६ वर्षीय विनोद तामाङ र कन्सट्रक्सनकै पूर्वकर्मचारी हिलिहाङ–१ अमरपुरका २२ वर्षीय भीम तामाङ रहेका छन्।
हिलिहाङकै सुभाङदेखि सडक निर्माणको काम गरेर कोरिडोरको ४ नम्बर क्याम्प अमरपुर फर्किदै गर्दा सालिङ्गे ठाउँमा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।
दुर्घटना मंगलबार राति साढे ८ बजेतिर भएको हो। दुर्घटनामा मृत्यु भएका भीम भने हालै नेपाली सेनामा भर्ती भएका थिए। उनी यसअघि रसुवा कन्सट्रक्सनमै स्टोर किपरको रुपमा कार्यरत रहेको र बरबुझारत गरेर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।

सम्बन्धित खवर