पथरी, निर्वाचनका बेला जनप्रतिनिधीहरुले फ्रि वाइफाइको ध्वाङ पिटेर निकै भोट बटुलेका थिए । निर्वाचन सकिए लगतै आफ्ना योजना र एजेन्डा भने बिर्सिए । तर मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ मा भने चोक चोकमा फ्रि वाइफाइ राखिएको छ ।
वडाले आर्थिक वर्ष २०७६/०७७ मा बजेट बिनियोजन गरेर फ्रि वाइफाइको व्यवस्था गरेको वडा अध्यक्ष जय बहादुर तामाङले बताए । अहिले हरेक कुराहरु इन्टरनेटको माध्यमबाट हुने र नगर तथा वडाका सम्पूर्ण गतिविधि थाहा पाउनका लागि पनि जनतालाई इन्टरनेटको आवश्यकता पर्ने भएकाले वडाले यस्तो व्यवस्था गरेको तामाङले बताए । तामाङको चुनावी एजेन्डामा फ्रि वाइफाइ थिएन तर समाजमा हरेका काम गर्नका लागि चुनावी एजेन्डा नै चाहिन्छ भन्ने हैन । वडाले व्यवस्था गरेको वाइफाइको सबै वडावासीले सदुपयोग गर्नुपर्ने तामाङले बताएका छन् ।
हाललाई वडाका ४ वटा चोक हसन्दह बजार, भातेगौँडा बजार, मंगलबारे बजार र गेलाबारी चोकमा यस्तो व्यवस्था रहेको वडा सचिव मिना कुमारी वर्माले जानकारी दिइन् । हालको इन्टरनेट स्पिड ३० एमबिपिएस रहेको छ । यो एक वर्षका लागि म्याक्स नेट सोलुसन बिराटनगरसंग सम्झौता गरिएको छ ।