कार्तिक २३, २०७६
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरिबी निवारणमा सहकारीको भूमिका महŒवपूर्ण रहेको बताएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग र राष्ट्रिय सहकारी महासङ्घ लि. नेपालको आयोजनामा विराटनगरमा शुक्रबारदेखि शुरु भएको प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी प्रादेशिक गोष्ठीमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
सहकारी राष्ट्र निर्माणको लागि महŒवपूर्ण ‘पिलर’ भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले तीन तहको सरकारसँग समन्वय र सहकार्य गरी एउटै सुर, तालमा हिँड्नु पर्ने बताए ।
सहकारी क्षेत्रलाई प्रत्यक्ष रूपमा जोड्न प्रदेश सरकारले लगानी सम्मेलनको तयारी शुरु गरेको मुख्यमन्त्री राईले बताए ।
लगानी सम्मेलनमा वैदेशिक र स्वदेशीसहित सहकारी क्षेत्रलाई समेटेर परियोजनाको काम अगाडि बढाउने मुख्यमन्त्री राईले बताए । सहकारी क्षेत्रलाई जोडेर विकास र समृद्धिको यात्रामा प्रदेश सरकार अगाडि बढ्ने मुख्यमन्त्री राईको भनाइ थियो ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सहकारी संस्थामा कालोधन प्रवेशलाई निषेध गरिनु पर्नेमा जोड दिए । सहकारी संस्थाबाट गरिबी निवारण हटाएर विकास र समृद्धिको गतिमा अगाडि बढ्नु पर्ने उनले बताए ।
त्यस्तै सहकारी संस्थाका लेखा संयोजक धर्मदत्त देवकोटाले सहकारीलाई राजनैतिक गर्ने थलोको रूपमा मात्र प्रयोग गर्न नहुने बताए । उनले सहकारीलाई उत्पादन र वृत्ति विकासमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक रमेशप्रसाद पोखरेल, रविन्द्र केसी, शिवकुमार डाँगीलगायतले सहकारीलाई प्रविधिसँगै जोडेर अगाडि बढ्नु पर्नेमा जोड दिए । शनिबारसम्म सञ्चालन हुने गोष्ठीमा १ नम्बर प्रदेशभरिका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति रहेको छ ।
