इलामस्थित नेपाल–भारत सीमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा भारतीय पक्षबाट बारम्बार अवरोध हुँदै आएको छ।
प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको रकमबाट सन्दकपुर डाँडामा करिब एक करोड रुपैयाँको लागतमा भौतिक पूर्वाधारका काम थालिएको थियो। तर, भारतले सीमासम्बन्धी बखेडा निकाल्दा सन्दकपुर डाँडामा भ्यु प्वाइन्टसहित १०० मिटर पैदल मार्ग, प्रवेशद्वारलगायतका पूर्वाधार निर्माणको क्रममा रोकिएको उपभोक्ता समितिका अध्यक्ष रिञ्जि शेर्पाले बताए।
निर्माणको काम रोकिएपछि सो बजेटले पछि कन्काई माईको उद्गम स्थल र मन्दिर क्षेत्रमा भने पूर्वाधार निर्माणका काम भएको थियो। नेपालतर्फ आहालटारमा निर्माण गर्न लागिएको आवास गृहमा पनि भारतीय अवरोध भएको छ।
करिब तीन करोड रुपैयाँको लागतमा बन्ने आवास गृहका लागि टेन्डरसमेत भएको अवस्थामा भारतीय पक्षले सीमा यकिन नभएको भन्दै निर्माण रोकेको प्रदेश सांसद खिनु लङवा लिम्बुले बताइन्।
‘सीमा यकिन नभएकाले पूर्वाधार नबनाउन दबाब दिएपछि आवास भवन अन्तै निर्माणका लागि ठाउँ छनौट भएको छ,’ सांसद लिम्बुले भनिन्। सन्दकपुरमा नेपालतर्फबाट कच्ची सडक स्तरोन्नति गर्ने काम भइरहेको छ ।
नेपालतर्फ होटल, शौचालयजस्ता पूर्वाधार बनाउँदा भारततर्फ रहेको सडकबाट निर्माण सामग्री ल्याउन कडाइ गरिएको छ ।
