मोरङमा पनि फौजी किराको आतंक

मोरङमा पनि फौजी किराको आतंक

विभिन्न जिल्लाहरुमा देखिँदै आएको फौजी किराको आतंक मोरङमा पनि देखिएको छ। धान भित्राउने समयमा फौजी किराको संक्रमण बढेपछि मोरङ्ग पथरी शनिश्चरे ५ कोठेवारी, मैनखाडीका किसान चिन्तित बनेका छन्। फलेको धानमा फौजी किराको प्रकोप बढेसँगै यहाँका किसानले पाक्न केही समय लाग्ने धानपनि काट्न थालेका छन्।
काटेर खेतमा सुकाएको धान समेत किराको प्रकोपले नष्ट हुन थालेपछि किसानमा थप चिन्ता थपिएको हो। केही समय अघि झापा र सुनसरीमा देखिएको फौजी किराको प्रकोप पथरी शनिश्चरेका धानवालीमा समेत आइपुगेको हो।
पाक्ने तयारीमा रहेको धान नोक्सान गरेपछि यतीबेला यहाँका किसानहरु भने चिन्तित बनेका छन्। नगरकै बढी धान उत्पादन हुने कोठेवारी,मैनखाडी क्षेत्रमा फौजी किराको प्रकोप बढ्दै गएपछि यसको नियन्त्रणका लागि किसानले संम्वधित पक्षसँग आग्रह गरेका हुन्।
फौजी किराको प्रकोप दैनिक व्यापक बन्दै गएपछि धान उत्पादन घट्ने यहाँका किसानहरु वताउँछन्। यहाको करिव १० विगाह जग्गामा लगाइएको धानमा फौजीको प्रत्यक्ष असर देखिएको छ।
पथरीशनिश्चरे ५ कोठेबारीका कृषक प्रेम प्रसाद ज्ञवालीको ६ कठ्ठा जग्गामा लगाइएको धान फौजीको प्रकोपले नष्ट भएको छ । उनले भने ‘गत वर्ष ३० मन धान फलेको खेतमा यस वर्ष फौजीको प्रकोपले ७ मन धान भित्राउन नसकिएला जस्तो भएको छ।’
उनले भने ‘फौजीको नियन्त्रण नभए यस वर्ष किसानलाई समस्या हुन्छ।’ कृषक डम्वर कुमार अधिकारीका अनुसार फौजीको प्रकोपले पुरै धानको बाला काटेको छ। ठाडै रहेका धानमा मात्र नभएर काटेर सुकाएका धान पनि पाँजामै नष्ट भएको छ। उनले भने ‘फौजी किराले यस वडाका मात्र १० बिघामा भन्दा वढिमा लगाइएको धानबाली नष्ट गरिरहेको छ, कुन विषादीले यो किरा मार्न सकिन्छ थाहा छैन।’ प्रति बिघा ७०, ८० मनसम्म उत्पादन हुने धानबालीमा फौजी किराको प्रकोप देखिएपछि यहाका किसानलाई समस्या भएको वडा सदस्य चेतेन्द्र खड्काले बताए।
उनले भने ‘फौजीको प्रकोप वारे नगरपालिकाको कृषी शाखामा जानकारी गराएको र समाधानको बाटो खोज्न सुरु गरेका छौँ।’ अरुको अधिया खेती गर्दै आएका सोहि ठाउँका कृषक चिरन्जीवी वन्जराका अनुसार धान थन्काउन नपाइ किराले खाएपछि अनिकाल आउने त्रास यँहाका किसानमा रहेको छ।
पथरीशनिश्चरे नगरपालिकाको कृषि शाखा प्रमुख सावित्रा कार्कीका अनुसार फौजी किराको प्रकोप नगरमा पहिलो पटक देखिएको छ । धानको फुल खेल्ने समयमै प्रकोप फैलिएको थाहा भएको भए नियन्त्रण गर्न सकिने थियो तर फसल उत्पादन भएपछि देखिएको प्रकोप नियन्त्रण गर्न नसकिने कार्कीले बताइन्।
अब लगाइने वालीमा भने फौजीको प्रकोप नफैलियोस भनि किसानलाई नगरपालिकाले प्रविधिक सहयोग गर्ने उनी बताउछिन्। मकैमा समेत फौजीको प्रकोप रहने हुदा किसान सचेत हुनु पर्ने काकीको भनाइ छ । थाहाखबर

सम्बन्धित खवर