मोरङ, कार्तिक १७ गते राति ९ बजे ४ लाख रुपैँया सहितको मनि ब्याग, पसलको खुद्रा खाता र हातको मोबाइल समेत लुटेर हिडेको एक व्यापारिले आरोप लगाएका छन् । सोही केस मिलाइदिन भन्दै प्रदेश १ का मन्त्री समेतको फोन आएको खुलासा भएको छ ।
मोरङ पथरी शनिश्चरे १ निवासी केशव खतिवडाले आफ्नो ४ लाखको ब्याग लुटिएको जानकारी दिएका छन् । खतिवडा पथरी बजारमा रहेको खतिवडा किराना सप्लायर्सका संचालक हुन् । आफुले सप्तरीको नारायणी चिउरा मुराइ उद्योगबाट सामान ल्याउने गरेको र सोही सामानको ३० हजार तिर्न बाँकी रहेकामा १७ गते राति सो उद्योगका संचालक अभिशेक काभ्राले घरमै आएर ४ लाख सहितको व्याग, खाता, मोबाइल लगेको खतिवडाले बताए । उनले भने ‘मैले ३० हजार तिर्न बाँकी थियो । मलाइ बिहान काभ्राले फोन गर्दा मैले बेलुका ५ बजेपछि मात्रै रकम दिन सक्ने भनेको थिएँ, पछि फोन गर्दा एकपटक मात्रै कुरा भएको थियो । काभ्राले म काकडभिट्टामा छु घरमै आउछु भनेर फोन राखे, काभ्राले भनेजसरी नै मैले अगाडी नै पथरीको कृष्ण किरानामा ३० हजार रकम पनि छाडेको थिएँ । ९ बजे राति आएका काभ्राले भित्र पस्नासाथ उसको मुन्सीलाई ये ब्याग, खाता सब गाडीमे डालो, ये चलोचलो भने मैले फोन गरेर कन्फर्म गरिदिन्छु भन्दा भन्दै मेरो मोबाइल नै खोसेर लगे ।’
खतिवडाका अनुसार उनले सोही समयमा प्रहरीलाई खबर गरेको र प्रहरी घटना स्थलमा पुगेर फोन गर्दा काभ्राले उल्टै तँलाई डिआइजीको फोन आउँछ भनेर थर्काएका थिए । १८ गते विहान इलाका प्रहरी कार्यालय पथरीबाट सम्पर्क गरेपछि दिउसो २ बजेको समयमा पथरी आएका काभ्राले आफ्नो गल्ती भएको र १९ गते विहान सम्ममा सबै सामान र पैशा फिर्ता गर्ने कुरा भएको खतिवडाको भनाइ छ । तर २० गते सम्म पनि काभ्राले आफ्नो सामान र पैशा फिर्ता नगरेको भन्दै खतिवडाले चोरी डकैतीको आरोपमा इप्रका पथरीमा उजुरी दर्ता गरेको जानकारी दिएका छन् ।
यही घटनालाई मिलाइदिन भन्दै प्रदेश १ का वन वातावरण तथा पर्यटनमन्त्री जगदिश प्रसाद कुसियतले समेत इप्रकामा फोन गरेको पाइएको छ । निवेदन दर्ता गर्न खोज्दा प्रहरी निरिक्षक राम बहादुर ढकालले मन्त्रीको फोन आएको र आफुपनि मन्त्रीसंग ३ वर्ष देखि चिनजानमा रहेकाले पैशा फिर्ता हुन्छ डुक्क हुन भनेको खतिवडाको भनाइ छ । तर अहिले सम्म पनि आफुले न्याय नपाएको भन्दै खतिवडाले दुखेसो गरे । खतिवडाको करिब १५ हजार पर्ने भिभो मोबाइल रहेको बताएका छन् ।
यता उद्योगी काभ्राले आफुले व्याग लानु गल्ती गरेको तर ४ लाख रुपैँया भने नलगेको बताएका छन् । यही ४ लाख लगेको भनेर प्रमाण पु¥याएमा मात्रै सो रकम तिर्ने काभ्राको भनाइ छ । आफुलाई खतिवडाले फोन गरेर बोलाएको र घरमा जाँदा पैशा छैन् यही मोबाइल छ भनेर मोबाइल समेत दिएर पठाएको काभ्राले बताए । ‘मलाई व्याग, मोबाइल सबै उसैले दिएर पठाएको हो । मलाई व्याग दिँदा समेत म पैसा पठाइदिन्छु अनि मेरो व्याग फिर्ता गर्नु भनेर उसैले भनेको हो । मलाई फसाउनलाई यस्तो रचेको रहेछ । ४ लाख त के ४ पैशा खायो भनेपनि मलाई त गाइको रगत खाए बराबर हुन्छ । अनि कसरी लान्छु त्यसै अरुको पैशा ? मैले व्याग लगेर जाँदा राति ११ बजे पुगेको थिए घर अनि भोली पल्ट विहान म हनुमाननगर प्रहरीमा गएँको थिएँ त्यहा प्रहरीले हेर्दा व्यागमा मोबाइल मात्रै भेटेको थियो । मलाई पथरी इलाकाबाट फोन गरेर त्यहाबाट व्याग लिएर आउनु भनेपछि म पथरी गएको हो ।’ काभ्राले भने ।
काभ्राका अनुसार खतिवडाले पटक पटक दिएका चेक समेत बाउन्स भएका छन् । प्रहरीले भनेअनुसार नै आफुले सबै सामान पथरी इलाकामा छाडेको बताएका छन् । आफुलाई त्यसै फसाउन खोजेको भन्दै इप्रका पथरीमा उजुरी समेत दिएको काभ्राले बताए । प्रहरीले छानविन गरेर कार्वाही गर्छ होला, काभ्राले भने ।