पक्राउ परेका पूर्वमन्त्री आलमद्वारा बम घटना नै अस्वीकार

पक्राउ परेका पूर्वमन्त्री आलमद्वारा बम घटना नै अस्वीकार

बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमले घटना अस्वीकार गरेका छन् ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बुधबार बयान दिने क्रममा आलमले घटना हुँदै नभएको भन्दै आफूमाथिको अभियोग अस्वीकार गरेका हुन् । बम विस्फोटको कुनै घटना नै नभएको विषयमा आफूलाई राजनीतिक पूर्वाग्रहका कारण फसाउन खोजिएको बयान उहाँले दिनुभएको हो ।
बुधबार दोस्रो दिन बयान दिन इजलासमा पुग्नुभएका आलमलाई बम विस्फोटमा सख्त घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगसम्बन्धी प्रश्न सोधिएको थियो । त्यस क्रममा इजलासले मिसिल संलग्न अभियोगपत्रसँगै प्रस्तुत विभिन्न प्रत्यक्षदर्शीले गरिदिएको कागज र बयान देखाउँदै घटनामा संलग्नताका विषयमा प्रश्न सोधेको थियो । त्यस विषयमा आलमले अस्वीकार गर्दै घटना नै नभएको दोहो¥याउनुभयो । मिसिलमा संलग्न प्रत्यक्षदर्शी तथा विभिन्न व्यक्तिको कागजका बारेमा पनि उहाँले अनभिज्ञता प्रकट गर्नुभएको बयानमा उपस्थित कानुन व्यवसायीहरूले बताउनुभयो । बुधबार आलमसँग कर्तव्य ज्यानसम्बन्धी मुद्दामा केन्दित रही प्रश्न सोधिएको थियो ।
रौतहट क्षेत्र नम्बर २ बाट निर्वा्चित नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य आलमसमेत ११ जनामाथि विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको आरोपमा तीन छुट्टाछुट्टै मुद्दा दर्ता भएको छ । जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले यही सोमबार रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो । मङ्गलबार विभिन्न नौ औपचारिक प्रश्नमै सीमित रहेको इजलासले बुधबार भने आलमसँग २३ वटा प्रश्न सोधेको थियो । ती सबै प्रश्नमा आलमको इन्कारी बयान छ ।
बिहान १० बजे अदालत पुग्नुभएका आलमसँग इजलासले साँझ ४ः३० बजेसम्म बयान लिएको थियो । बुधबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा केन्द्रित रही बयान लिइए पनि ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको गैरकानुनी प्रयोगका विषयमा दायर अभियोग सम्बन्धमा बिहीबार बयान लिइने स्रेस्तेदार गुणराज पराजुलीले बताउनुभयो । बिहीबार पुनः उपस्थित गराउने गरी आलमलाई प्रहरी हिरासतमा पठाइएको जानकारी उहाँले दिनुभयो ।
सम्भवतः बिहीबार बयान सम्पन्न हुने र शुक्रबारदेखि थुनछेक बहस सुरु हुने बताइएको छ । मुद्दा पुर्पक्षका सिलसिलामा थुनामा राख्ने वा धरौटी वा तारेखमा छाड्ने विषयमा थुनछेक बहस हुने छ । त्यसका लागि नेपाल सरकार र पीडित जाहेरवाला तथा आलमका पक्षबाट बहस गर्ने कानुन व्यवसायीहरू रौतहट पुग्न थालेका छन् । पीडितका तर्फबाट बहस गर्न पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौला, अधिवक्ता पुष्पराज पौडेल तथा आलमका तर्फबाट बहस गर्न नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, पूर्वमहासचिव सुनिल पोखरेल रौतहट पुगिसक्नुभएको छ ।
पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर फरहदवास्थित सेख इद्रिसको गोठघरमा बम बनाउँदै गर्दा विस्फोट भएपछि सख्त घाइते भएका सरुअठा गाउँका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलगायतका व्यक्तिलाई नजिकैको इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि छ । त्यस घटनामा बमको छर्रा लागेर घाइते भएका गौरीशङ्कर राम चमार र सफी अहमद भने उम्कन सफल भएकोे अभियोगपत्रमा उल्लेख छ ।
कुमार विवेकानन्द मिश्ररसञ्जयकुमार मिश्रले आबरबिराटनगरमा लेखेका छन् ।

सम्बन्धित खवर