स्वास्थ्यसंस्था छेउमै नवजात शिशु मृत भेटियो, आमा र स्वास्थ्यसंस्था प्रहरी निगरानीमा

स्वास्थ्यसंस्था छेउमै नवजात शिशु मृत भेटियो, आमा र स्वास्थ्यसंस्था प्रहरी निगरानीमा

भिमराज अधिकारी, पथरी

मोरङ कानेपोखरी गाउँपालिका ६ मा सालनाल सहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । रमाइलो बजारमा रहेको रमाइलो डायग्नोष्टिक सेन्टरको पछाडीको भागमा रहेको शौचालयबाट सिमानामा पर्ने मेनुका दवाडीको करेशाबारीमा शिशु भेटिएको हो । मंगलबार साँझ ५ बजेतिर पुरिएको अवस्थामा शिशु भेटिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । सो घटना पनि प्रहरीले शिशु फाल्ने आमा र सो डायग्नोस्पिटक सेन्टरलाई निगरानीमा राखेको छ ।

संगै रहेको डायग्नोस्टिक सेन्टरमा गर्भपतन गरिएको वा प्रसुति गराउँदा मृत भएकाले त्यँहा फालिएको हो भन्ने आशंका स्थानीयले गरेका छन् । हाल शिशुको पोष्ट मार्टमका लागि स्वास्थ्यचौकी मंगलबारे लगिएको इप्रका पथरीका प्रहरी निरिक्षक रामबहादुर ढकालले जानकारी दिनुभयो ।

सोही वडाकी १७ वर्षीय विश्वकर्मा थरकी एकजना युवतीलाई लिएर उनका परिवार आएको र उनलाई ज्वरो आएका कारण डेङ्गु अथवा अरु केही भएको चेक गरिदिन भनेको डायग्नोस्टिक सेन्टरका संचालक प्रकाश धिमालले बताउनुभयो । धिमालले भन्नुभयो ‘म मेरो क्लिनिकमा थिएँ, साँझ ७, ८ बजेतिर बाउ छोरी आए ज्वरो आयो, वाकवाकी पनि लागेको छ डेङ्गु हो की के हो चेक गरिदिनु भनेपछि मैले सिस्टरलाई फोन गरेर बोलाएको हो । सिस्टरले रगत जाँचेपछि पिसाब चेक गर्न पर्छ भनेपछि पिशाब लिन शौचालय गएका थिए भरे उतै के के गरेर आएछन् । मैले त भोलीपल्ट मात्रै थाहा पाँए । रगत बगिरहेको छ भनेपछि मैले यँहा उपचार हुँदैन भनेर अन्तै लैजानु पनि भनेको थिएँ ।’

यसको प्रत्यक्षदर्शी शिशुलाई पुरेको अवस्थामा भेट्ने मेनुका दवाडीको भनाइबाट भने केही आशंका उब्जिएको छ । मेनुकाको भनाइ यस्तो छ ‘म स्कुलबाट आएर मेरो करेसाबारीमा टमाटरको बिरुवा रोप्न गएकी थिँए अन्तिममा एउटा बिरुवा बाँकी थियो । त्यो बिरुवा पनि रोप्नका लागि कुटेले यसो खोस्रिदा बच्चाको हात माथि निस्कीयो अनि मैले तुरुन्तै संचालक प्रकाश धिमाललाई डायग्नोस्टिक सेन्टरमा नै गएर त्यो करेशाबारीको के हो भनेर भन्दा मैले बुझे म्याडम पर विहिबारेबाट एउटा डेलिभरी केस आएको थियो । बच्चा मरेको जन्मियो अब यो के गर्ने भनेर भनेको हामी नै मिलाउँछौँ भने भरे त्यँहा पो गाडेछन् म फोन गरेर बोलाउछु भनेर भने त्यसपछि एकछिनमै हल्ला फैलियो सबैजना भेला भए त्यति बैला नै पुलिस पनि आइपुगे । त्यो बच्चाको आमालाई पनि र शिशुपनि पुलिसले लगे ।’ दवाडीलाई संचालक धिमालले भनेको भनाइ अनुसार अगाडी नै गर्भवति भएको थाहा भएको र गर्भपतन गरेको वा प्रसुति गराउँदा बच्चाको ज्यान गएकाले त्यहा पुरिएको आशंका प्रष्ट रुपमा गर्न सकिन्छ ।

तर सो डायग्नोष्टिक सेन्टरमा प्रसुति, गर्भपन लगाएतको सेवा नरहेको र आफुले त्यस्ता केश नहेर्ने कुरा संचालक धिमालले बताउनुभएको छ ।

शिशुकी आमाको उमेर हाल १७ वर्षको मात्रै रहेको छ । आफन्तकोमा गएका बेला नचिनेका पुरुषसंग यौन सम्बन्ध भएको र आफुले सो व्यक्ति को हो भनेर हाल नचिन्ने कुरा बताएको इप्रका पथरीले जानकारी दिएको छ । ति बालिकाले परिवारमा समेत यस्तो कुनैपनि कुरा नबताएका कारण समस्या भएको परिवारको बुझाइ पाइन्छ । ति युवतिले आफु शौचालयमा गएको अवस्थामा बच्चा जन्मिएको र आफैले पुरेको स्वीकारेको प्रहरीको भनाइ छ ।

वडामा घटेको घटनालाई निश्पक्ष रुपमा छानविन गरेर दोषीलाई कार्वाही गर्नुपर्ने वडा अध्यक्ष खड्ग बहादुर बस्नेतले बताउनुभयो । आफुलाई पनि संचालक धिमालले नै फोनमा जानकारी गराएको र आफु घटनास्थलमा पुगेको बस्नेतको भनाइ छ । हाल शिशुकी आमाको स्वास्थ्य परिक्षण र उपचारका लागि विराटनगर लगिएको छ । घटनाको अनुसन्धान भइरहेको र दोषी पत्ता लगाएर कार्वाही गरिने इप्रका पथरीका प्रहरी निरिक्षक ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर