जिल्ला कारागारमा क्षमताभन्दा साढे पाँच गुणा बढी कैदीबन्दी

जिल्ला कारागारमा क्षमताभन्दा साढे पाँच गुणा बढी कैदीबन्दी

जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा साढे पाँच गुणा बढी कैदीबन्दी रहेका छन् । जिल्ला कारागारमा २५ जना कैदीबन्दी मात्र राख्न सकिने हो । तर, अहिले साढे पाँच गुणा अर्थात् एक सय ३३ कैदीबन्दी रहेका छन् । क्षमताभन्दा धेरै गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको प्रमुख जेलर कुलेन्द्र खवासले बताए ।
साँघुरो र थोरै चर्पी भएका कारण कारागार आसपासका क्षेत्र नै दुर्ग्न्धित बनेका छन् । ‘चर्पी भरिएको छ,’ उनले भने, ‘वरिपरि बजारक्षेत्र भएकाले दिनमा चर्पी सफा गर्न सकिने अवस्था नै छैन ।’ दुर्गन्ध बढ्दै जाँदा कैदीबन्दी मात्र नभई आसपासका क्षेत्रमा पनि महामारी फैलन सक्ने सम्भावना उच्च रहेको छ ।
कैदीबन्दीको स्वास्थ्यका लागि वर्षमा एक लाख आउने गरे पनि दुई लाखभन्दा बढी खर्च हुने गरेको जेलर खवासले बताए । त्यस्तै, कारागार साँघुरो भएकाले कैदीबन्दी ओछ्यान फैलाएर सुत्ने ठाउँ पनि छैन ।
अहिले कारागारमा रहेका एक सय ३३ कैदीबन्दीमध्ये ११ जना थुनुवा र एक सय २२ जना कैदी रहेका छन् । सबैभन्दा धेरै जबर्जस्ती करणीका ३६ जना कैदी रहेका छन् । त्यस्तै, थुनुवामध्ये चारजना जबर्जस्ती करणीका रहेको जेलर खवासले बताए । कारागारमा कर्तव्य ज्यानका ३५ जना, लागुऔषधका सात कैदी र एक बन्दी, डाँका मुद्दाका सात, खुनडाँकाका ६, चोरीका चार कैदी र एक थुनुवा, जिउ मास्ने बेच्नेका तीन, सवारी ज्यानका चार कैदी रहेका जेलर खवासले बताए ।

सम्बन्धित खवर