एकैसाथ सात प्रहरी भवन निर्माण हुँदै

एकैसाथ सात प्रहरी भवन निर्माण हुँदै

जिल्लामा एकैसाथ सात स्थानमा प्रहरी भवन निर्माण भइरहेको छन् । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐंसेलुखर्क र मात्तिम बिर्ता, प्रहरीचौकी देवीस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको प्रहरी भवन निर्माणाधीन अवस्थामा छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवं प्रवक्ता आमोदकुमार खेरवारका अनुसार जिल्ला प्रहरी कार्यालयको आवासगृह ४८ प्रतिशत, इलाका प्रहरी कार्यालय ऐंसेलुखर्क ६५ प्रतिशत, मात्तिम बिर्ता ७५ प्रतिशत, देवीस्थान ९५ प्रतिशत र रतन्छा, च्यास्मिटार तथा बुइपा २०÷२० प्रतिशत निर्माण सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको आवासगृह नेपाल सरकारको नियमित बजेट तीन करोड ९० लाख सात हजार ६ सय ७२ रुपैयाँ १२ पैसा लगानीमा निर्माण सुरु गरिएको हो ।
इलाका प्रहरी कार्यालय ऐंसेलुखर्क र प्रहरीचौकी देवीस्थान पुनर्निर्माण प्राधिकरण, मात्तिम बिर्ता साकेला गाउँपालिकाको रतन्छा, च्यास्मिटार र बुइपा प्रदेश सरकारको लागतमा निर्माण भइरहेको हो । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐंसेलुखर्क, मात्तिम बिर्ता र देवीस्थान प्रहरीचौकी भवनको निर्माण सम्पन्न गर्नुपर्ने मिति यसअघि नै सकिएको प्रहरी प्रवक्ता खेरवारले जानकारी दिए ।
चार अस्थायीसहित ३५वटा प्रहरी बिट रहेको जिल्लामा इलाका प्रहरी कार्यालय बाक्सिला प्रहरीचौकी वाप्लुखा र हुक्नाजोरका लागि आगामी आर्थिक वर्ष नयाँ भवन निर्माणको काम सुरु हुने जनाइएको छ । तीनवटै स्थानको प्रहरी भवन प्रदेश सरकारका लगानीमा निर्माण हुने प्रहरी प्रवक्ता खेरवारले जानकारी दिए ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा तालखर्क, याम्खा, भण्डारेघाट र हरमटारमा अस्थायी प्रहरीचौकी रहेको छ । आफ्नै प्रहरी भवन अभावमा जिल्लामा प्रतिमहिना ८१ हजार नौ सय ३८ रुपैयाँ ३३ पैसा राज्यकोषको रकम भाडाबापत खर्च हुने गरेको छ । केदार थापामगरले नया पत्रिकामा लेखेका छन् ।

सम्बन्धित खवर