जनकपुरधाम, प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गरी कर्मचारीलाई भित्र छिर्न नदिने योजना बनाएर मुख्यमन्त्री कार्यालय पुगेका ३० भन्दा बढी अस्थायी शिक्षक पक्राउ परेका छन् ।
मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सेवाबाट मुक्त गरिएपछि निरन्तर आन्दोलन गर्दै आएका अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नुपर्ने माग राखेका छन् ।
ताला लगाउन गएका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहितकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखिएको छ ।
यसअघि अस्थायी शिक्षकहरुले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा चक्काजाम गरेका थिए भने गत असार २० गतेदेखि एक महिनासम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्नासमेत दिएका थिए ।