हाइड्रो पावरको सुरूङभित्र फसेका ४ जनामध्ये ३ जनाको शव फेला

हाइड्रो पावरको सुरूङभित्र फसेका ४ जनामध्ये ३ जनाको शव फेला

बझाङको बुंगल नगरपालिकामा निर्माण भैरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चार जनामध्ये तीन जना मजदुरको शव फेला परेको छ । आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी सुरु गरिएको थियो ।

सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट चार जना र दिपायलबाट पाँच जनाको विषेश टोलीसहित नौ जनाको उद्धार टोलीले सुरुङभित्र खोजतलास गर्दा तीन जनाको शव फेला पारेको हो ।

सुरुङभित्र पसेका चार जनामध्ये दैलेखको गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, त्यही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउदको शव फेला परेको बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिनुभयो ।

फेला परेको तीनै जनाको शवलाई सुरुङबाट बाहिर निकालिएको पनि उहाँले जानकारी दिनुभयो । बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय शेरसिहँ धामी भने अझै बेपत्ता रहेको र उनको पनि खोजी भइरहेको उहाँले बताउनुभयो ।

उद्धार टोलीले तिनै जनाको शव सुरुङको १ किलो मिटर पर फेला परेको थियो । सोमबार तीन जनाको मात्रै शव फेला परेको र एक जना अझै बेपत्ता रहेकाले अब मंगलबार फेरि खोजी जारी रहने नायब उपरीक्षक बमले जानकारी दिनुभयो ।

काम गर्नका लागि उनीहरुले सुरुङ भित्र ट्रयाक्टरसमेत लिएर गएका थिए । सुरुङभित्र अक्सिजनको मात्रा निकै न्यून रहेको र हाइकेमिकल ग्यासको मात्रा बढी भएका कारण उनीहरुको ज्यान गएको हुन सक्ने पनि उहाँले जानकारी दिनुभयो ।
उज्यालोबाट

सम्बन्धित खवर