सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । सो दुर्घटनामा ३ महिने शिशुको समेत ज्यान गएको छ ।
सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको उनले बताइन् ।
उनका अनुसार मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५१ वर्षीया रक्तकुमारी रावत छन् ।
त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् । ५० जना भन्दा वढी घाइतेहरुको बनेपा, खाँडीचौर लगाएतका अस्पतालमा उपचार भइरहेको छ ।
दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।