बिमा कम्पनीले उजाडेको घरबार, बिमाले ज्यान लियो

बिमा कम्पनीले उजाडेको घरबार, बिमाले ज्यान लियो

श्रीमान्‌को मोबाइल पसल, श्रीमतीको कुखुरा फार्म । एक छोरी र एक छोरा । पोखरामा तीनतले घर । जीवन हाँसीखुसी चलिरहेको थियो, बीचमा बिमा पस्यो । भविष्य सुरक्षित हुने आशामा जीवन बिमा गरेकी पोखरा–१५ की लक्ष्मी नेपालीको जीवनै रहेन । बिमा बापतको एक करोड रुपैयाँ हत्याउन श्रीमान् रमेश नेपालीले बुनेको हत्याको जालमा परिन् उनी ।

श्रीमान् जेल गए, दुई छोराछोरीको बिचल्ली भयो । बिमा अभिकर्ता, बिमा कम्पनीको शाखा कार्यालय र रमेशको मिलेमतोको सुइँको लक्ष्मीले पाइनन् ।

आफ्नै योजनामा श्रीमतीको हत्या गरेर प्रहरीकोमा श्रीमती हराएको निवेदन दिएका रमेशको कर्तुत लामो समय टिकेन । पोखरा रामबजारबाट असार १ मा हराएकी लक्ष्मीको कंकाल २५ दिनपछि पुम्दीभुम्दीको जंगलमा भेटियो ।

साली नाता पर्नेसँग रमेशको ‘लसपस’ भएको शंका पाएको प्रहरीले केरकार गर्दा उनैले कंकालसम्म पुर्‍याए । उनलाई हिरासतमा लिएर अनुसन्धान गर्दा प्रहरीलाई नै चकित पार्ने तथ्य पत्ता लाग्यो । उनले श्रीमतीको नाममा योजनाबद्ध रूपमा ठूलो रकमको जीवन बिमा गरेका थिए । त्यही रकम हात पार्न भाडाका मान्छे प्रयोग गरी श्रीमतीको जीवन सिध्याए । रमेशले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ता र दमौली शाखा कार्यालय प्रमुखसँगको मिलेमतोमा क्षमताभन्दा बढी रकमको जीवन बिमा गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले लक्ष्मीलाई २० वर्ष अवधिका लागि एक करोड रुपैयाँको वार्षिक अग्रिम भुक्तानी जीवन बिमा गर्ने प्रयोजनका लागि अभिकर्ता अविनाश श्रेष्ठमार्फत २०७५ फागुन २३ मा प्रस्ताव फारम भराए । कम्पनीको दमौली शाखामा कागजात पेस गरेपश्चात् फागुन २९ मा बिमा लेख जारी भयो । वार्षिक बिमा शुल्क (प्रिमियम) ७ लाख २० हजार २ सय ४० रुपैयाँ त्यही दिन बुझाए ।

बिमा गर्दा बीमितले बिमा शुल्क बुझाउन सक्ने आम्दानीको स्रोत सन्तोषजनक छ/छैन भनेर हेर्नुपर्छ । बिमांकको आधारमा नियमित तिर्नुपर्ने बिमा शुल्क तिर्न सक्ने अवस्था देखिएमा मात्र बिमा लेख जारी गर्नुपर्छ । कम्पनीले भने वास्तविक अवस्था जाँचबुझ नगरी कागजी प्रमाणलाई मात्रै योग्यताको आधार मानेको छ ।

बीमित लक्ष्मी नेपालीले कम्पनीमा बिमा गर्ने क्रममा सहारा कृषि सहकारी संस्था लिमिटेड (व्यास ४, दमौली) मा प्रबन्धक पदमा कार्यरत रहेको र मासिक ४० हजार रुपैयाँ तलब भत्ता पाउने गरेको कागजात पेस गरेकी छन्, जबकि पोखरा बस्ने उनले त्यस्तो जागिर नै खाएकी थिइनन् । बिमा कम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठकै सल्लाहमा सहकारीको लेटरप्याड दुरुपयोग गरी रमेशले उक्त कागजात तयार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रमेशले पोखरा रामबजारको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको डिपोजिट स्टेटमेन्ट र सिभिल बचत तथा ऋण सहकारी संस्थामा खोलेको खाताको स्टेटमेन्टसमेत पेस गरेका छन् । रमेशले रामबजारमा रहेको ‘प्रकाश मोबाइल मर्मत सेन्टर’ बाट मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी हुने कागजात बुझाएका छन् । सानो मोबाइल पसलबाट त्यतिधेरै आम्दानी हुनै नसक्ने प्रहरी बताउँछ । बिमा कम्पनीले तिनै कागजातका आधारमा बिमा शुल्क भुक्तानी गर्न योग्य मान्दै लक्ष्मीको बिमा लेख नम्बर ४०१००००५६९ उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बिमा समितिलाई पत्र लेखी युनियन लाइफका अभिकर्ता र दमौली शाखा प्रमुखलाई नियमानुसार कारबाही गर्न सिफारिस गरेको छ । भदौमा बिमा समितिलाई पत्र लेख्दै अभिकर्ता लमजुङ सोतीपसलका अविनाश श्रेष्ठ र युनियन लाइफका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले बीमितको आयस्रोत धेरै देखाउने उद्देश्यले नक्कली कागजात तयार गरी कम्पनीमा पेस गरेको अनुसन्धानबाट देखिन आएको बताएको छ ।

‘छोराछोरीले पाउनुपर्छ बिमा रकम’

लक्ष्मीका ७ वर्षीय छोरा राजीव छुट्टीमा आर्मी पोसाकमा देखिन्छन् । ‘यसकी आमाले छोरालाई आर्मी, छोरीलाई नर्स बनाउँछु भन्थी,’ ९ वर्षीया रोशनीतिर फर्कंदै हजुरआमा जुनामायाले भनिन्, ‘मान्छे मरे पनि बुहारीको आत्मा मरेको छैन । छोराछोरीको वरिपरि हिँडेकी होली ।’

पोखरा वन क्याम्पस कान्तिपुर चोकको तीनतले घरमा ५० वर्षीया जुनामाया आफूलाई एक्लो पाउँछिन् । केही महिनाअघिसम्म खुसीसाथ बसेको परिवारमा अकस्मात् नसोचेको वज्रपात पर्‍यो । हेटौंडाबाट चितवन हुँदै पाँच वर्षअघि पोखरा बसाइँ सरेर आएको थियो उनको परिवार । कान्छो छोरा प्रकाशले पोखरामै मोबाइल पसल चलाएर एकतले घर बनाएका थिए । उनैले दाजुभाउजू र भतिजाभतिजीलाई पोखरा बोलाए । रामबजारमा रहेको मोबाइल पसल माइलो दाइ रमेशलाई जिम्मा लगाएर जापान हान्निए । जापानमा ऋणधन गरेर घरको तला थपे । ‘माइलोले मति बिगारेपछि घरै भताभुंग भयो,’ जुनामायाले दुखेसो पोखिन्, ‘कान्छो जापानबाट फर्किन खोजेको छ, यही घर बनाउँदा लिएको ऋण नतिरी फर्किन सकेको छैन ।’

रोशनी र राजीवलाई भने जेठो छोरा भरतले काठमाडौं लगेर राखेका छन् । हजुरआमाको मन मानेको छैन । ३ कक्षा पढ्ने रोशनी विद्यालयमा कसैले नदेख्ने गरेर रुन्छिन् । हजुरआमाले दसैंमा दिएको सय रुपैयाँ उनले खुत्रुकेमा अटाइनअटाई हालिन् । हजुरआमाले सोध्दा भनिन्, ‘यसमा जम्मा गरेको पैसाले बाबालाई निकाल्न पुग्ला नि है ।’ घरको माथिल्लो तलाको कोठामा लक्ष्मीको तस्बिर छ । त्यही फोटो हेरेर १ कक्षामा पढ्ने राजीवले हजुरआमालाई भन्छन्, ‘ममी कहाँ हुनुहुन्छ होला ? यति उज्यालो फोटो छ ।’ नातिनातिनीको अवस्था देखेर जुनामाया र तोकबहादुरको मन छियाछिया हुन्छ । ‘अर्की मन परेको भए लिएर गएको भए हुन्थ्यो,’ जुनामायाले भनिन्, ‘मेरी बुहारीको ज्यान त बच्थ्यो । त्यो (रमेश) त मेरी बुहारीको खुट्टामा पनि सुहाउने थिएन ।’ बुहारीको मृत्यु र छोरा जेलमा भए पनि आम्दानीको बाटो बन्द छ । अचेल ६३ वर्षीय तोकबहादुर ज्यामी काम गर्छन् । बिहान/लुकाको छाक टार्छन् ।

रमेश नेपाली हाल संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । प्रहरीले बिमाबापतको रकम छोराछोरीलाई दिलाउन पहल गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्की बिमा रकमको प्रिमियम तिरिसकेको अवस्थामा मृत्यु भएकाले बिमा बापतको रकम कम्पनीले उपलब्ध गराउनुपर्ने बताउँछन् । ‘श्रीमतीको मृत्यु भएको र श्रीमान् जेलमा गएको अवस्थामा त्यो रकमको लाभार्थी बच्चाहरू नै हुन्छन्,’ उनले भने ।
यो खबर कान्तिपुर दैनिकबाट लिइएको हो ।


<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/U2aJmvLrZjc” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

सम्बन्धित खवर